चन्द्रागिरि हिल्सद्वारा वडा कार्यालयले शुल्क नउठाउन दिएको निर्देशनको अवज्ञा

लोकप्रिय

हेटौँडा, चैत ९ गते ।
चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौँ अनधिकृत रुपमा उठाउँदै शुल्क खारेज गर्न वडा कार्यालयहरुले लिएको निर्देशन विपरीत उभिएको छ ।
थाहा नगरपालिका वडा नं. ९, चित्लाङ भञ्ज्याङ हुँदै प्रसिद्ध भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारण नागरिकसँग अनधिकृत रुपमा उठाउँदै शुल्क खारेज गर्न वडा कार्यालयहरुले लिएको निर्देशनको अवज्ञा गर्दै शुल्क असुलीलाई निरन्तरता दिने पक्षमा चन्द्रागिरि हिल्स देखिएको हो ।
चन्द्रागिरि हिल्सले अनधिकृत रुपमा पैदलयात्रीसँग रकम असुली गर्दै आएको तीन वटा स्थानीय तहका वडा कार्यालयहरुले उक्त कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएका थिए ।
थाहा नगरपालिका वडा नं. ९, इन्द्रसरोवर गाउँपालिकाको वडा नं. ५ र चन्द्रगिरि नगरपालिकाको वडा नं. ४ को कार्यालयले मन्दिरसम्म पुग्न प्रति पैदलयात्री एक सय रुपियाँ शुल्क असुली तत्काल रोक्न पत्राचार गर्दै निर्देशन दिएका थिए ।
तीन वटा वडा कार्यालयहरुको निर्देशन विपरीत चन्द्रगिरि हिल्सले आफूहरुले लिएको शुल्कले पर्यटक र दर्शनार्थीहरुलाई सुविधा उपलब्ध हुने जिकिर गरेको छ ।
चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौँले शुक्रबार एक सूचना जारी गर्दै चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीय बासिन्दा बाहेकका अन्य स्थानबाट वैकल्पिक मार्ग प्रयोग गरी आउने पर्यटक तथा दर्शनार्थीहरुबाट एक सय रुपियाँ सेवा शुल्क लिई सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ ।
शुल्क लिँदै आएको जानकारी चेकपोष्ट स्थित सूचना बोर्डमा समेत स्पष्ट बुझिने गरी उल्लेख गरिएको छ चन्द्रागिरि हिल्सद्वारा जारी सूचनामा भनिएको छ, उक्त व्यवस्थाबाट वैकल्पिक मार्ग हुँदै पाल्नुहुने पर्यटक तथा दर्शनार्थीहरुलाई थप सहयोग एवं सुविधा उपलब्ध हुन पुगेको स्पष्ट गर्न चाहन्छौ ।
उता थाहा नगरपालिका वडा ९ का वडाध्यक्ष राजकुमार बलामीले भालेश्वर मन्दिरसम्म जाने पैदल मार्ग अन्तर्गत चन्द्रागिरि हिल्सले चेकपोइन्ट राखेर उक्त मन्दिरसम्म पुग्न पैदलयात्रीसँग शुल्क लिने कार्य तत्काल रोकी उक्त पैदल मार्ग हुँदै भालेश्वर मन्दिरसम्म जाने कुनै पनि पैदलयात्रीहरुलाई आवतजावतमा रोकावट नगर्नसमेत निर्देशन दिनुभएको थियो ।
यात्रीहरुलाई आवतजावतमा रोकावट नगर्न र चेकपोइन्टमा राखिएका सामाग्रीहरु समेत सात दिनभित्र हटाइदिन भन्दै सोमबार निर्देशन दिनुभएको थियो ।
यस्तै थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले चन्द्रागिरी हिल्ससँग यसअघि भएको सहमति उल्लङ्घन गर्दै नागरिकसँग सय रुपियाँ उठाउँदै आएको भन्दै उक्त असुली कार्य तत्काल रोक्नुपर्ने बताउनुभयो ।
यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ वडा कार्यालयले भालेश्वर मन्दिर र वनमा जान प्रवेश शुल्क उठाउन चन्द्रागिरि हिल्सलाई कुनै अनुमति नदिएको जनाएको छ ।
वडाध्यक्ष दुतराज तितुङले इन्द्रसरोवर गाउँपालिकाको वडा नं. ५ को समेत क्षेत्रमा पर्ने भालेश्वर मन्दिर र वन क्षेत्रमा चन्द्रागिरी हिल्सले पैदल यात्रुसँग प्रवेश शुल्क लिने कार्य गैरकानुनी रहेकोले तत्काल सो कार्य बन्द गर्न निर्देशन दिनुभएको थियो ।
यसैगरी चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले चन्द्रगिरि हिल्सले अनियमितताका साथ शुल्क उठाउँदै आएको जन गुनासो आएकोले नेपाल भित्रबाट आउने पर्यटकसँग शुक्ल लिने कार्य अबिलम्ब रोक्न अनुरोध गर्नुभएको छ ।
चन्द्रगिरि हिल्सले सो क्षेत्रसँग जोडिएका स्थानीय सरकार र अन्य निकायसँगको छलफल तथा समन्वय एवं लिखित र मौखिक निर्णयका आधारमा सो क्षेत्र वरिपरीको फोहोर मैला व्यवस्थापन तथा सरसफाई, शौचालयको व्यवस्थापन, निःशुल्क पिउने पानीको व्यवस्था, निःशुल्क वाईफाइ, बिजुली बत्ती, पार्किङ सुविधा र दर्शनार्थीहरुको व्यक्तिगत सुरक्षा तथा वनजन्य सुरक्षाका लागि दुई जना सुरक्षा गार्डको व्यवस्थापन गर्दै आईरहेको जनाएको छ । साथै, सुख्खा याममा सम्भावित डढेलोको जोखिम न्यूनीकरण गर्न स्थानीय सामुदायिक वनहरुसँगको समन्वयमा चार जना वन हेरालु राख्न आर्थिक सहायता प्रदान गर्दै आईरहेको चन्द्रागिरि हिल्सद्वारा जारी सूचनामा भनिएको छ ।

ताजा समाचार

Related Articles