रुपन्देही । लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय पिस म्याराथन सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटी र चिनिया दूतावासको संयुक्त आयोजनामा सम्पन्न म्याराथनमा भारतीय सेनामा कार्यरत अनिश थापा मगर प्रथम भएका छन् ।
अनिश थापा मगरले २ घण्टा २० मिनेट १८ सेकेण्डमा ४२.१९ किमी पार गर्दै ३ लाख ५० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यसै गरि नेपाली सेनामा कार्यरत सुशील कुमार शाही दोस्रो भए । उन उक्त दुरी २ घण्टा, २० मिनेट २५ सेकेण्डमा पूरा गरेर २ लाख ५० हजार पुरस्कार जिते । केन्याका धावक स्टेफेन कोस्गेई तेस्रो भए । उनले उक्त दुरी २ घण्टा २० मिनेट ४७ सेकेण्डमा पूरा गरेर एक लाख ५० हजार पुरस्कार जिते ।
यसै गरि महिला सहभागीहरूलाई आधा दुरीको म्याराथन गराइएको थियो । हाफ म्याराथनमा पनि नेपाली धावकहरूले वर्चस्व जमाएका छन् । २१ किमी महिलाको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । उनले उक्त दुरी एक घण्टा २० मिनेट ५ सेकेण्डमा पूरा गर्दै एक लाख ५० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सेकेण्डमा उक्त दुरी पूरा गरेर दोस्रो भइन । उनले एक लाख नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन । त्यस्तै चीनकै चेन विईले दुई घण्टा २६ सेकेण्डमा पूरा गरेर तेस्रो हुनुभयो र ८० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन ।
म्याराथनमा पुरुष तर्फ १० औँ स्थान सम्म आउने र महिला तर्फ छैटौँ स्थान तर्फ आउनेलाई पुरस्कार बाँडिएको थियो । यसै गरि महिला तर्फ छैटौँ स्थान सम्मलाई पुरस्कारको व्यवस्था गरिएको नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले जानकारी दिनुभयो । म्याराथन अन्तर्गत ५ किलोमिटरको खुल्ला दौड र ५ किलोमिटरकै विद्यालयका छात्रछात्राहरूको दौड पनि आयोजना गरिएको उनले जानकारी दिनुभयो । प्रतियोगितामा ४ सय ३० बढी एथलिटहरु सहभागी भएको उनले बताउनुभयो । दौड प्रतियोगितामा सबै पुरस्कारको रकम गरि १९ लाख बराबरको पुरस्कार वितरण गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपालसँगै चिन र केन्याका धावकहरूले पनि भाग लिएको श्रेष्ठले जानकारी दिनुभयो ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लुम्बिनीमा शान्ती म्याराथनको आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको भनाई छ । उहाँले लुम्बिनीलाई शान्तिको गन्तव्य बनाउने उद्देश्य सहित ओलम्पिक कमिटीले म्याराथनको आयोजना गरिरहेको उहाँको भनाई छ । यसलाई भविष्यमा अझै व्यवस्थित गरि अगाडी बढाइने उहाँले जानकारी दिनुभयो ।