भोजपुर । प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगिताको तयारी थालिएको छ ।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष भने २०८२ वैशाख १४ देखि २० गतेसम्म गर्ने गरी तयारी थालिएको आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।
भोजपुर नगरपालिका वडा नम्बर ७, कोदारमा रहेको रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ भने अन्य थप रकम सह प्रायोजकहरूबाट सङ्कलन गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
गत वर्ष सञ्चालन भएको सातौँ संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाडौँ विजेता बनेको थियो ।