जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अस्पतालपछि जनताको अर्को सरोकारको विषय रहेको होटलको अनुगमन थाल्नु भएको छ ।
मुख्यमन्त्री सिंहले जनकपुरधामस्थित होटल अनुगमन गर्नु भएको छ । उहाँका होटलमा सफा, स्वच्छ तथा स्वस्थ खाना उपलब्ध नहुने गरेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले होटल अनुगमन सुरु गर्नु भएको छ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीसँगै मुख्यमन्त्री सिंहले जनकपुरधामस्थित होटल जानकी भ्यू, हंसराज स्विट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको अनुगमन गर्नु भएको छ ।
सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिनु भएको हो । उहाँले होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने जानकारी दिनु भयो ।
अनुगमनका क्रममा अधिकांश होटललाई मापदण्डअनुसार भान्सा कोठालाई सफा तथा व्यवस्थित राख्न निर्देशन दिइएको छ । साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहका अनुसार हंसराज स्विटबाट उत्पादकको नाउँ, उत्पादन तथा म्याद गुज्रिने मिति नभएका ११ प्याकेट मम जफत गरी नष्ट गरिएको छ भने न्यू जानकी भ्यू होटलबाट गन्हाएको एक बाल्टिन तरकारी र कीरा परेको दाल तथा खुला ठाउँमा राखिएको तरकारी र लक्ष्मी मिष्ठान्न भण्डारबाट किरा परेको दस किलो मैदा जफत गरी नष्ट गरिएको छ ।
साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख साहले मुख्यमन्त्री नेतृत्वको टोलीले अनुगमन गरेका चार होटलसहित आइतबार जनकपुरधाममा दस होटलको अनुगमन गरिएको जानकारी दिनु भयो । उहाँले अनुगमनमा रघुपति मिष्ठान्न भण्डारको अवस्था भने सन्तोषजनक रहेको पाइएको जानकारी दिनुभयो ।