मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने अभियानमा सञ्चार जगत् लाग्नुपर्छ

लोकप्रिय

विराटनगर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने अभियानमा सञ्चार जगत् लाग्नुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको आजदेखि विराटनगरमा सुरु भएको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्नुहुँदै महासचिव पोखरेलले  लोकतान्त्रिक व्यवस्था स्थापना भएपछि विकास निर्माणसँगै मुलुकको आर्थिक, सामाजिकलगायत हरेको क्षेत्रमा उल्लेखनीय सुधार भएकाले जनतामा आशा जगाउने गरी समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।  उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध गलत प्रचार गर्दै अहिले भ्रम छर्ने काम भइरहेकाले सञ्चार जगत्ले प्रजातन्त्र स्थापना भएपछि मुलुकमा आएको परिवर्तनका विषयमा जनतामा सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले लोकतन्त्रमाथिको प्रहार किमार्थ स्वीकार्य नहुने भन्नुहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संविधानमै स्थापित भइसकेकाले यसलाई उल्टाउने कुरा कुनै पनि हालतमा सम्भव नहुने बताउनुभयो ।

उहाँले मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि नेकपा एमाले र नेपाली काँग्रेसको सहमतिमा वर्तमान सरकार गठन भएकाले यो सरकार गठन भएपछि मुलुकको आर्थिक अवस्थामा सुधार आएको, मुलुकको पुँजीगत खर्च बढेको, विदेशी मुद्राको सञ्चिति बढ्नुका साथै लगानीको वातावरण सृजना भएको प्रस्ट पार्नुभयो ।

महासचिव पोखरेलले सात बुँदे सहमतिअनुसार राष्ट्रियसभा दुई तिहाइको सुनिश्चित कायम गर्दै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष विश्वमणि सुवेदी, प्रेस चौतारी नेपालका कोसी प्रदेश इन्चार्ज विक्रम लुइँटेलले श्रमजीवी पत्रकारको हकहितका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

सो अवसरमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेर काम गर्दै आउनुभएका पत्रकारहरूलाई सम्मान गर्नुका साथै प्रेस चौतारीले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा प्रेस चौतारीसँग आबद्ध देशभरका पत्रकारहरूको सहभागिता रहेको छ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

ताजा समाचार

Related Articles