काठमाडौँ-नेकपा एमालेले पार्टी सचिवालय बैठकका विषयमा केही स्वदेशी एवम् विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका महासचिव शङ्कर पोखरेलले विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरुको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका भनेर प्रकाशित समाचार निराधार र अतिरञ्जित भएको जानकारी गराउनु भएको हो ।
‘नेपालको संविधान र हामीले अवलम्बन गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय हो। संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरङ्कुशतन्त्र प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा हामी स्पष्ट छौँ। इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल पार्छन् भन्ने कुरामा हामी विश्वस्त छौँ।’महासचिव पोखरेलले विज्ञप्तिमा भन्नुभएको छ,
महासचिव पोखरेलले एमाले र पार्टी नेतृत्वको वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ।
महासचिव पोखरेलले ती समाचारले अनावश्यक रूपमा सनसनी फैलाउने एवम् नेपाल र भारतबीचको युगौँ पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका समेत बताउनु भएको छ।