हेटौँडा, चैत १२ गते ।
थाहा नगरपालिकामा एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको कुन्छाल–वज्रबाराही–टौखेल सडक, थाहा पर्यटन पार्क र थाहा बस पार्क निर्माण कार्य सुस्त बनेको छ ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कार्य प्रगति कमजोर रहेको भन्दै जनप्रतिनिधि र थाहा नगरपालिकाका क्रियाशील राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिरुले उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई भेट गरी ध्यानाकर्षण गराएका छन् ।
सडक स्तरोन्नति तथा पार्क निर्माण कार्य ठेक्का सम्झौता अवधिमा पुरा नभएको बताउँदै छिटोभन्दा छिटो काम सम्पन्न हुने गरी आवश्यक निर्देशनका लागि उपप्रधानमन्त्री सिंहलाई प्रतिनिधिमण्डलले आग्रह गरेको थियो ।
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री सिंहले तत्काल सम्बन्धित निर्माण व्यवसायी अबको तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिने र प्रशासनिक संयोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रतिनिधिमण्डलमा सहभागी नेपाली कांग्रेस थाहा नगर समितिका सभापति प्रमोद जोशीले जानकारी दिनभयो ।
सभापति जोशीले सडक निर्माणमा ढिलाई हुँदा स्थानीयले वर्षामा हिलो र हिउँदमा धुलोका कारण आवागमनमा समस्याभएको बताउनुभयो ।
कुन्छाल–वज्रबाराही–टौखेल सडक, थाहा पर्यटन पार्क र थाहा बस पार्क करिब ५० करोड रुपियाँको लागतमा निर्माणाधीन रहेको छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री सिंहलाई नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली, पूर्व उपप्रमुख लवसेर विष्ट, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्षलगायतको टोली भेटका लागि गएको थियो ।