पैदलयात्रीसँग शुल्क उठाएपछि चन्द्रागिरि हिल्सविरुद्ध स्थानीय आन्दोलित

लोकप्रिय

हेटौँडा, चैत १२ गते ।
पैदलयात्रीको निर्वाध आवागमनमा अवरोध सिर्जना गरेको र मन्दिर जाने यात्रीसँगसमेत शुल्क उठाएको विरोधमा स्थानीय बासिन्दा चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौँविरुद्ध आन्दोलित बनेका छन् ।
थाहा नगरपालिका वडा नं. ९, चित्लाङ भञ्ज्याङ हुँदै प्रसिद्ध भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चन्द्रागिरि हिल्सले चेकपोइन्ट राखेर सर्वसाधारण नागरिकसँग अनधिकृत रुपमा एक सय रुपियाँ असुली गर्दै आएपछि स्थानीयले विरोधमा उत्रिएका हुन् ।
भालेश्वर मन्दिर परिसर जाने पैदल यात्रुलाई २४ घण्टा खुला राखी आवत–जावतमा नियन्त्रण नगर्न र चन्द्रागिरी भालेश्वर हुँदै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ जाने बाटो नियमित रुपमा खुला गर्न इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाका बासिन्दाले माग गरेका छन् ।
भालेश्वर मन्दिर जाँदा प्रयोग हुने बाटोको अवैधरुपमा असुल गरिएको रकम सार्वजनिक गरी उक्त रकम सरोकारवालाको रोवहरमा सोही बाटो स्तरोन्नतिको लागि खर्च गर्नुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ ।
थाहा नगरपालिका वडा नं. १० का दीपक गोपालीले चेकपोइन्ट राखेर सर्वसाधारण नागरिकसँग शुल्क उठाउने अधिकार नभएको भन्दै चन्द्रागिरि हिल्स व्यवस्थापनलाई छ बुँदे माग पत्र बुझाइएको बताउनुभयो ।
उहाँले चन्द्रागिरि हिल्सले जग्गा अतिक्रमण गरी भोगचलन गरेको देखिएको भन्दै नेपाल सरकारसँग केही वर्षका लागि लिजमा लिएको जग्गा र वनक्षेत्र भोगचलन गरिरहेको विवरणसहित सार्वजनिक गरी सिमाङ्कन गर्नुपर्ने बताउनुभयो ।
चन्द्रागिरी हिल्स्ले थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र चन्द्रागिरि नगरपालिकासँग गरेको सम्झौता अनुसार स्थानीय ले रोजगारसहित सेवा, सुविधा प्राप्त गरेका छन वा छैनन् विवरण सार्वजनिक गरियोस माग पत्रमा भनिएको छ, नगरिएको भए विगतको समेत क्षतिपूर्ति हुने गरी चन्द्रागिरि हिल्सले कोटा बढाएर रोजगारीलगायत अन्य सेवा र सुविधा प्रदान गरियोस् ।
वास्तविक भालेश्वर मन्दिरलाई ऐतिहासिक स्वरूपमा नराखी व्यापारिक प्रयोजनका लागि आधुनिक तरिकाले निर्माण गरी ऐतिहासिक मन्दिरलाई छाँयामा पारिएको भन्दै उहाँले उक्त मन्दिरको पुरानो मौलिकता कायम हुने किसिमले निर्माण गर्न माग गरिएको बताउनुभयो ।
यसअघि थाहा नगरपालिका वडा नं. ९, चित्लाङ भञ्ज्याङ हुँदै प्रसिद्ध भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारण नागरिकसँग अनधिकृत रुपमा उठाउँदै शुल्क खारेज गर्न वडा कार्यालयहरुले निर्देशन दिएका थिए ।
थाहा नगरपालिका वडा नं. ९, इन्द्रसरोवर गाउँपालिकाको वडा नं. ५ र चन्द्रगिरि नगरपालिकाको वडा नं. ४ को कार्यालयले मन्दिरसम्म पुग्न प्रति पैदलयात्री एक सय रुपियाँ शुल्क असुली तत्काल रोक्न पत्राचार गर्दै निर्देशन दिएका थिए । तर वडा कार्यालयरुको निर्देशन विपरीत शुल्क असुलीलाई निरन्तरता दिने पक्षमा चन्द्रागिरि हिल्स देखिएपछि स्थानीय बासिन्दा आन्दोलित बन्दै चन्द्रागिरि हिल्समा नाराबाजी र चेक प्वाइण्ट हटाउनेसम्म गरेका छन् ।
चन्द्रागिरि हिल्सले अनधिकृत रुपमा पैदलयात्रीसँग रकम असुली गर्दै आएको तीन वटा स्थानीय तहका वडा कार्यालयहरुले उक्त कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएका थिए ।
तीन वटा वडा कार्यालयहरुको निर्देशन विपरीत चन्द्रगिरि हिल्सले आफूहरुले लिएको शुल्कले पर्यटक र दर्शनार्थीहरुलाई सुविधा उपलब्ध हुने जिकिर गरेको छ ।
चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौँले एक सूचना जारी गर्दै चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीय बासिन्दा बाहेकका अन्य स्थानबाट वैकल्पिक मार्ग प्रयोग गरी आउने पर्यटक तथा दर्शनार्थीहरुबाट एक सय रुपियाँ सेवा शुल्क लिई सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ ।
चन्द्रागिरि हिल्सद्वारा जारी सूचनामा भनिएको छ, उक्त व्यवस्थाबाट वैकल्पिक मार्ग हुँदै पाल्नुहुने पर्यटक तथा दर्शनार्थीहरुलाई थप सहयोग एवं सुविधा उपलब्ध हुन पुगेको स्पष्ट गर्न चाहन्छौ ।चन्द्रगिरि हिल्सले सो क्षेत्रसँग जोडिएका स्थानीय सरकार र अन्य निकायसँगको छलफल तथा समन्वय एवं लिखित र मौखिक निर्णयका आधारमा सो क्षेत्र वरिपरीको फोहोर मैला व्यवस्थापन तथा सरसफाई, शौचालयको व्यवस्थापन, निःशुल्क पिउने पानीको व्यवस्था, निःशुल्क वाईफाइ, बिजुली बत्ती, पार्किङ सुविधा र दर्शनार्थीहरुको व्यक्तिगत सुरक्षा तथा वनजन्य सुरक्षाका लागि दुई जना सुरक्षा गार्डको व्यवस्थापन गर्दै आईरहेको जनाएको छ ।

 

ताजा समाचार

Related Articles