काठमाडौँ, चैत १२ गते ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा आधारित पाँच वटा विषयगत प्रतिवेदन सार्वजनिक गरेको छ। काठमाडौँमा मंगलबार आयोजित कार्यक्रममा नेपालमा प्रजनन् स्थितिसहितका पाँच वटा प्रतिवेदन सार्वजनिक गरिएको हो ।
२०७८ सालको जनगणना नेपालको संविधानअनुसार सङ्घीय शासन प्रणाली लागू भएपछिको पहिलो जनगणना हो । यसले देशको जनसाङ्ख्यिक, सामाजिक र आर्थिक अवस्थाबारे महत्त्वपूर्ण जानकारी प्रदान गरेको छ। प्रतिवेदनहरूले प्रजनन् दरमा ऐतिहासिक कमी आएको र जनसाङ्ख्यिक लाभांशको अवसर अझै कायम रहेको देखाएका छन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेका प्रतिवेदनहरूमा नेपालमा प्रजनन् स्थिति, नेपालमा आन्तरिक बसाइँसराई, नेपालममार अन्तराष्ट्रिय बसाइँसराईको अवस्था, नेपालमा जनसाङ्ख्यिक लाभांश र नेपालको जनसंख्या प्रक्षेपण २०७८–२१०८ समावेश छन्। कार्यालयले २१ वटा विषयगत प्रतिवेदन प्रकाशन गर्ने योजना बनाएको र यसअघि तीन वटा प्रतिवेदन सार्वजनिक भइसकेको जनाएको छ ।
जनगणनावाट प्राप्त नतिजाका तथ्याङ्कीय र विश्लेषणात्मक प्रतिवेदनहरु क्रमैसँग विभिन्न चरणहरुमा प्रकाशन गर्ने भएको छ ।
उक्त प्रतिवेदन सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधु सुदन बुर्लाकोटी, राष्ट्रिय योजना आयोग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र युएनएफपिए तथा व्रिटिस एम्बेसीका राष्ट्रिय प्रतिनिधिहले सयूक्तरुपमा सार्वजनिक गर्नुको साथै आफ्नो धारणा राख्नु भएको थियो ।