हेटौँडा, चैत १३ गते ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँ बस्ती सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष घाइते हुनुभएको छ ।
हेटाँैडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख २३६५न.को तोरी लोड बोकेको ट्रक बिग्री साईटमा रोकी राखेको अवस्था मनहरीतर्फबाट सुनाचुरीतर्फ जाँदै गरेको ना १ ब ३०६६ न. को मोटरसाइकल ट्रकको पछाडि ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका ६ चौकीटोल बस्ने मनहरी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष युवराज थपलिया घाइते हुनुभएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार मंगलबारभएको उक्त दुर्घटनामा परी वडाध्यक्ष थपलियाको टाउको र शरीरको विभिन्न भागहरुमा चोट लागेको छ ।
थपलियालाई उपचारको लागि चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।
यस्तै मनहरी गाउँपालिका ६ नयाँ बस्ती अन्तर्गत पूर्व–पश्चिम सडक खण्डमा ट्याङ्कर र ट्रक एक आपसमा ठक्कर खाई मंगलबार दुर्घटना हुँदा दुवै सवारी साधनका चालक र सहचालक गरी चार जना घाइतेभएका छन् । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ख ८३७६ नं.को कालो मोबिल बोकेको लोड ट्याङ्कर र बिपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ख ३२३७ नं.को माटो बोकेको लोड ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइतेभएका ट्रक चालक पर्सा जिल्ला परवानिपुर ३ बस्ने वर्ष २५ का राजु कुमार साह र सह–चालक वर्ष २६ का राकेस कुमार कुसवाह मनहरी अस्पतालमा उपचार भएको छ ।
यस्तै ट्याङ्कर चालक भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने वर्ष २७ का महेश पाण्डे र सह–चालक पर्सा जिल्ला बहुदरमाई गाउँपालिका ७ बस्ने वर्ष १८ का गोबिन्द पटेललाई उपचारका लागि चितवन मेडिकल कलेज चितवनमा पठाइएको प्रहरीको भनाई छ ।