हेटौँडा, चैत १३ गते ।
मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ मा दातृ संस्था चाइल्ड रेस्क्यु नेपालको सहयोगमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।
वडा नं. १२ स्थित धेत्रेदमार र गोदामडाँडा जोड्ने नवनिर्मित द लुइस बाह्न्स मेमोरियल पुलको मंगलबार गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष लामिछाने र उपाध्यक्ष भक्तबहादुर खत्रीले पुल निर्माणसँगै स्थानीयलाई आगागमनमा सहज हुने बताउनुभयो ।
वडा नं. १२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँको अध्यक्षतामाभएको पुल उद्घाटन कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष गोपाल लामा, चाइल्ड रेस्क्यु नेपाल युकेका कार्यकारी निर्देशक जोअना बेगां, इस्थर बेन्जामिन स्मृति संस्थाका उपाध्यक्ष उमा तिमिल्सिना, कालाभैरव प्राविका प्रधानाध्यापक चेतबहादुर घलेलगायतको उपस्थिति रहेको थियो ।
चाइल्ड रेस्क्यु नेपाल नामक संस्थाको सहयोग तथा बकैया गाउँपालिकाको कार्यालय र इस्थर बेन्जामिन स्मृति सस्ंथाको समन्वय ४० लाख रुपियाँ आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा निर्माण भएको उक्त झोलुङ्गे पुल ९० मिटर लम्बाईको रहेको छ । दुई महिनाअघि उक्त झोलुङ्गे पुलको निर्माण सुरु गरिएको थियो ।
उक्त झोलुङ्गे पुल निर्माणसँगै धेत्रेदमार, गोदामडाँडा र आसपासका क्षेत्रका तीन सय परिवार लाभान्वित हुने वडाध्यक्ष बजगाईँले जानकारी दिनुभयो । उहाँका अनुसार झोलुङ्गे पुल अभावमा वर्षायाममा स्थानीयले जोखिमपूर्ण रुपमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको थियो ।