हेटौँडा, चैत १४ गते ।
आगलागीबाट घरबारविहीन बनेका मकवानपुरको मकवानपुगढी गाउँपालिका २ का प्रविण दर्लामी मगरलाई राहत सामग्री जुटेको छ ।
यही चैत ५ गते बिहान आगलागीका कारण खाने मात्र होइन बस्ने बाससमेत गुमाएका मगरलाई दैनिक गुजारा चलाउन समस्या हुँदै आएको अवस्थामा हेटौँडाबाट गैससकर्मी र अधिकारकर्मीसहितको टोली राहत सामग्रीसहित उहाँका गाउँमा पुगेको हो ।
आगलागीबाट घर पूर्ण रुपमा जली क्षति भएपछि मकवनापुरगढी गाउँपालिकाको सहयोगमा बनाइएको अस्थायी आवासमा खाद्यान्न सामग्रीसहित आफूहरु पुगेको हिमराइट्स मकवानपुरकी कुमारी वाइवाले जानकारी दिनुभयो ।
मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका कार्यालय प्रमुख पवनकुमार भट्टसहितको टोलीले आगलागीपीडितको अवस्थाको बारेमा जानकारी लिएको थियो ।
आगलागीपीडित मगरलाई तत्काल राहत स्वरुप अस्मिता नेपालकी आरती पाठक, मानव अधिकार संगठनकी शर्मिला श्रेष्ठ, इटिएससी नेपालका जगदीश अधिकारी, एस्थर बेन्जामिन संस्थाका बुद्धवीर लामा, मानव अधिकारका लागि महिला, एकल महिला समुह मकवानपुरकी शारदा वञ्जारा, न्यानो आँगन नेपालकी मीरा हटुवाल, नारी संरक्षण केन्द्रका जेरोम घले र हिमराइट्सकी कुमारी वाइवाले संस्थागत तथा गैसस महासंघका रमिला सापकोटाबाट व्यक्तिगत रुपमा खाद्यान्न, भाडावर्तन, डस्नालगायतका लत्ताकपडाका लागि सहयोग जुटाइएको हो ।
मगरको जस्ताको छाना भएको ढुङ्गा माटोले बनेको दुई तल्ले कच्ची घरमा खोले पकाउन बालेको आगोबाट घरमा आगलागी भएको थियो ।
आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति हुँदा घरमा रहेको खाद्यान्न, लत्ताकपडा र भाडावर्तनका साथै सुनका गरगहनारु गरी १० लाख २५ हजार मूल्य बराबरको क्षति भएको जनाइएको छ ।