पत्रकार महासंघले सत्तरी औँ स्थापना दिवस मनाउँदै

लोकप्रिय

काठमाडौँ १४ गते । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ यही चैत १६ गते ७० औं वर्षमा प्रवेश गर्दैछ । आफ्नो स्थापना दिवसका अवसरमा महासंघले केन्द्र, प्रदेश र शाखा समितिमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
महासंघ अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले स्थापना दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा केन्द्र र उपत्यका बाहिरका जिल्ला शाखाहरुमा नसर्ने रोग तथा महिलाको पाठेघरको मुखको स्क्रिनिङ सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट प्रतिवद्धता प्राप्त भए बमोजिम केन्द्रीय कार्यालयमा मन्त्रालयसँग र उपत्यका बाहिरका जिल्ला शाखामा सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयसँगको सहकार्यमा आवश्यक प्रवन्ध मिलाइएको महासंघका महासचिव रामप्रसाद दाहालले जानकारी गराएका छन् ।
७०औं स्थापना दिवसका अवसरमा केन्द्रीय समितिले यही चैत १६ गते शनिबार बिहान ७ बजे सिनामंगल चोकबाट सञ्चारग्रामसम्म प्रभातफेरी गर्ने र बिहान ९ बजेदेखि १ बजेसम्म महासंघ केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण गर्ने तय भएको महासचिव दाहालले बताए । स्वास्थ्य परीक्षणमा बिएमआइ, उच्च रक्तचाप, मधुमेह, मृगौला, पाठेघरको मुखको स्क्रिनिङलगायत हुने छन् । यसअघि संघीय संसदका माननीयहरुको यस प्रकारको परीक्षण भएको थियो ।
केन्द्रीय कार्यालयमा हुने परीक्षणमा उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेश समितिका साथै काठमाडौं, ललितपुर र भक्तपुर शाखा, प्रतिष्ठान शाखाहरु र एसोसियट संस्थामा आवद्ध सदस्यहरुले भाग लिन पाउने छन ।
उपत्यका बाहिरका जिल्ला शाखाहरुमा हुने परीक्षणमा जिल्ला शाखाका साथै शााखाको जिल्लामा रहेका प्रदेश समितिमा आवद्ध पत्रकारहरुको सहभागिता रहनेछ । यसका अतिरिक्त प्रदेश र शाखाहरुले रचनात्मक कार्यक्रम गरी स्थापना दिवस मनाउने तय भएको महासंघले जनाएको छ ।

ताजा समाचार

Related Articles