जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भएका मधेश प्रदेश प्रहरी कार्यालयका टिमलाई आज जनकपुरधाममा विशेष कार्यक्रमका बीचमा सम्मानित गरेको छ ।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा आयोजित सम्मान कार्यक्रममा प्रथम स्थान प्राप्त गर्ने प्रहरी खेलाडीहरूलाई मुख्यमन्त्री सतिश कुमार सिंहले सम्मानपत्र प्रदान गरेर सम्मानित गर्नु भएको हो ।
मधेश भवनमा आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले खेलाडीहरूको स्थायी वृत्ति विकासका लागि सरकारी रोजगारीसँग जोडेर कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकार गम्भीर भएको बताउनु भयो ।
उहाँले खेल तथा खेलाडीले देश तथा प्रदेशको सम्मान बढाउने काम गर्ने भएकाले खेलकुदको विकासका लागि प्रदेश सरकारले थोरै रुपमा भएपनि सहयोग गरेको र गर्ने पक्षमा रहेको बताउनु भयो ।
मुख्यमन्त्री सिंहले युवाहरूमा ड्रग्स लिने प्रवृत्ति बढ्नु चिन्ताको विषय भएको बताउँदै नेपाल भारतको सीमानाकामा भएका विद्यालय तथा युवाहरूलाई खेल प्रति आकर्षित गर्नका लागि विशेष नीति बनाउने गरि नेपाली सेनाको एमसिसी प्रशिक्षण दिने विषयमा कुरा गरेको बताउनु भयो ।
उहाँले मधेश प्रदेश सरकारले खेलकुदसम्बन्धी ऐन निर्माण गरेको बताउँदै खेलका पूर्वाधार निर्माणमा अगामी आर्थिक वर्षमा विशेष योजना ल्याउने गरि सरकारले काम गरिरहेको बताउनु भयो ।