काभ्रेपलाञ्चोक, चैत १४ गते । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने बताउनुभएको छ ।
आज बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले कसैले भाषण गरेकै भरमा जनताको अधिकार खुम्च्याउन नहुने बताउनुभएको हो ।
“सङ्घीय लोकतान्त्रिक–गणतन्त्रात्मक संविधान कार्यान्वयन तथा अभ्यासका क्रममा केही कमीकमजोरी देखा परे यसका विधि परिवर्तन गर्न सकिन्छ, कसैले भाषण गरेकै भरमा व्यवस्था डगमगाउन दिन हुँदैन”, उहाँले भन्नुभयो । उहाँले संविधान संशोधन गर्नुपरे सबै पक्षसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो ।
मन्त्री सिंहले ‘स्मार्ट सिटी’को प्रसङ्गमा नेपालको सन्दर्भमा कस्तो बनाउने भन्नेबारे ‘ग्लोबल रिजनल र इन्टरनेशनल’ अभ्यासका सूचकबारे बुझेर अघि बढ्ने बताउनुभयो ।
बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकका तीन नगरपालिकाहरू बनेपा, पनौती र धुलिखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माणका विषयमा एशियाली विकास बैङ्क (एडिबी)ले चासो दिएको र सो विषयमा मन्त्रालयले ताकेता गरी छिटो निर्माण अघि बढाइने मन्त्री सिंहले जानकारी दिनुभयो ।