हेटौँडा, चैत १५ गते ।
बागमती प्रदेश सभाले छलफलका लागि प्रदेश सभा अन्तर्गतमा पठाइएका विधेयकहरुमध्ये दुई वटा विधेयकमाथि छलफल सुरुभएको छ ।
प्रदेश सभा बैठकले दफाबार छलफलका लागि पठाएको डेढ महिनापछि समितिमा प्रदेश कृषि विकास सम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलभएको हो ।
शिक्षा स्वास्थ्य तथा कृषि समितिमा दफावार छलफलका लागि प्रदेश सभाले सर्वसम्मतिले स्विकृति प्रदान गरी पठाइएको दुई वटा विधेयक थन्किएर बसेकोमा बुधबार र बिहीबार छलफलभएको छ ।
समिति सचिव हेमा न्यौपानेले प्रदेश कृषि विकास सम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयकमाथि बुधबार छलफल गरिएको र समितिले प्रतिवेदन तयार गर्न निर्देशनसमेत दिएको जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भि छलफल गरिएको छ । अर्को सूचना नभएसम्मका लागि समितिको बैठक स्थगित भएको अहिले थप छलफल हुन नसक्ने भयो उहाँले भन्नुभयो प्रारम्भिक छलफलभएको छ अर्को बैठकमा थप छलफल गरी प्रतिवेदन तयार भएपछि प्रदेश सभामा पेस गरिने छ ।
प्रदेश सभाबाट दफावार छलफलका लागि समितिमा पठाइएका विधेयकहरु समितिको प्राथमिकतामा नपर्दा अलपत्र बन्ने गरेको छ । उद्योग वाणिज्य तथा वातावरण समितिमा पठाइएको दुई वटा विधेयक समितिको बैठक बस्न ढिलाई हुँदा छलफल हुन सकेको छैन ।
प्रदेश सभाको गत माघ २६ गते बसेको बैठकले चार वटा विधेयकमाथि सैद्धान्तिक छलफल गरी दफावार छलफलका लागि पठाउने सर्वसम्मतिले स्विकृति प्रदान गरेको थियो ।
समिति र प्रदेश सभाका सदस्यहरुको समितिमा पठाइएको विधेयकमाथि छलफलभन्दा भ्रमण, गोष्ठी र दाताको सहयोगका कार्यक्रमहरु प्राथमिकतामा पर्दा विधेयकमाथिको छलफल ओझेलमा पर्दै आएका छन् ।
प्रदेश सभाको उद्योग वाणिज्य तथा वातावरण समितिका सभापति आनन्दुकमार श्रेष्ठले समितिमा दफावार छलफलका लागि आएका विधेयकमाथिको छलफल यही चैत १७ र १८ गते गर्ने गरी तय गरिएको जानकारी दिनुभयो ।
प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ संशोधन गर्न बनेको विधेयक प्रदेश सभाको उद्योग वाणिज्य तथा वातावरण समितिमा दफावार छलफलका लागि आएको छ ।
समितिमा आएका विधेयकमाथिको छलफल ढिलाई किन भएको भन्ने प्रश्नमा सभापति श्रेष्ठले भन्नुभयो, चैत १० र ११ गते महिला प्रदेश सभा सदस्यहरुको लागि तालिम र १५ गते समाजवादी मोर्चाको काठमाडौँ केन्द्रित कार्यक्रमका कारण विधेयकमाथिको छलफल पर सरेको छ ।
उहाँले दुई दिन छलफल गरेर दुवै विधेयक प्रतिवेदनसहित प्रदेश सभामा पेस गरिने बताउनुभयो ।
प्रदेश कृषि विकास सम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक यसअघि बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पुनर्विचार हुन आवश्यक रहेको सन्देशसहित फिर्ता पठाउनुभएको थियो ।
गत माघ २६ गतेनै प्रदेशसभा बैठकबाट स्वीकृत भएको प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भईसकेको छ ।