प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानव अधिकार आयोगको अपील

लोकप्रिय

हेटौँडा चैत १५ गते । समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र राजतन्त्र समर्थक विभिन्न राजनीतिक दल र सङ्गठनहरुले आज चैत्र १५ गते उपत्यकामा आफ्नो शक्ति प्रदर्शनको तयारी गरेका छन् । आज शुक्रबार हुने भनिएको प्रदर्शनप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्तिसुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको हो ।
यसै सन्दर्भमा आयोगले बिहीबार उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौँ र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको जनाएको छ । छलफलका क्रममा सुरक्षा अधिकारीहरुले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय बिच समन्वय गर्दै प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरी सुरक्षा योजना तयार पारिएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न निर्देशन गर्नुभएको छ । आयोगले विभिन्न टोलीहरु बनाई प्रदर्शनीको मानव अधिकारको कोणबाट अनुगमन गर्ने भएको छ ।
साथै आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लेखित प्रावधानहरुको पालनामा संवेदनशील हुँदै अरुको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोगले प्रदर्शनरत पक्षलाई अपिल गरेका छ । साथै, उत्पन्न परिस्थितिको आँकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउँदा मानव अधिकारप्रति संवेदनशील हुन आयोग नेपाल सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरुलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

 

ताजा समाचार

Related Articles