काठमाडौं, चैत १५ गते । नेपाली कांग्रेसले शान्तिपूर्ण राजनीतिका लागि आह्वान गरेको छ । साथै एक्काइसौँ शताब्दीमा कुनै पनि प्रकृतिको राजतन्त्र सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन भनी स्पष्ट गरेको छ ।
शुक्रबार काठमाडौंका तीनकुने क्षेत्रमा आयोजना गरिएको प्रदर्शन अचानक हिंसात्मक बनेर जनधनको क्षति भएपछि कांग्रेसको यस्तो धारणा आएको हो । पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाद्वारा संयुक्तरुपमा जारी गरिएको प्रेस वक्तव्यमा सो कुरा उल्लेख छ ।
वक्तव्यमा भनिएको छ, ‘‘संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई नेपाली कांग्रेस सदैव सम्मान गर्दछ । तर आज राजधानीको तिनकुने लगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा जेजस्तो हिंसात्मक घटना भएका छन् त्यो अत्यन्तै निन्दनीय छ । व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।’’
लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२-०६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधिसभा पुनस्र्थापित गरेको थियो । संसदमार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका नेपाली जनताका प्रतिनिधिहरुको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको उल्लेख गर्दै यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौं वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘‘नागरिकमा रहेका कयौं असन्तुष्टिको समाधान वर्तमान संविधानभित्रैबाट सम्भव छ । नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन हामी दृढ ढङ्गले प्रतिबद्ध छौं । हामी जान्दछौं कयौं कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौं । नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यही संविधानको दायराभित्रैबाट क्रमशः गर्न सकिन्छ । लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । नेपाली कांग्रेस सबै राजनीतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपीलसमेत गर्दछ ।’’
आजको हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउनेप्रति नेपाली कांग्रेसले गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ । घाइतेहरुको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गर्दै हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानूनी कार्वाहीको दायरामा अविलम्ब ल्याउन आग्रह पनि गरेको छ । कांग्रेसले नेपाली दिदीबहिनी दाजुभाइमा संयम र एकताका लागि अपील पनि गरेको छ ।