काठमाडौँ । समाजवादी मोर्चा नेपालले आज राजधानीमा जनसभाको आयोजना गर्यो ।
जनसभामा नेताहरूले नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जनसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पार्नुभयो ।
गणतन्त्रवादीले गरेको कमीकमजोरीका कारण प्रतिक्रियावादीले केही लाभ लिएको उल्लेख गर्नुहुँदै उहाँले वर्तमान सरकारले आफ्नो कार्यशैली सुधारेर जनअपेक्षा पूरा गर्नतर्फ केन्द्रित हुन सुझाव दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ठूलो सङ्घर्षबाट जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले वंशको दासत्व कुनै हालतमा स्वीकार्य नरहेको बताउनुभयो ।
अध्यक्ष नेपालले जनअपेक्षा पूरा गर्न नसक्दा असन्तुष्टि पैदा भएकोले जनचाहना पूरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको सङ्घर्षको बलमा परास्त भएका शक्ति फेरि जुरमुराउने प्रयास गरिरहेको पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्कने विषय कुनै हालतमा स्वीकार्य नभएको बताउनुभयो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले प्रतिगामी शक्तिहरूले द्वन्द्व निम्त्याएर मुलुकलाई अप्ठ्यारोमा पार्न चाहेको जिकिर गर्नुभयो ।