समाजवादी मोर्चाद्वारा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

लोकप्रिय

काठमाडौँ । समाजवादी मोर्चा नेपालले प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने आपराधिक तत्त्वलाई यथाशीघ्र कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

मोर्चाले आज विज्ञप्ति जारी गर्दै राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । मोर्चाले यस प्रकारका उच्छृङ्खल र अराजक कार्यको भर्त्सना र निन्दा गरेको छ ।

राजधानीमा आयोजना गरेको जनप्रदर्शनबाट अत्तालिएका यथास्थितिवादी तत्वले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय, काठमाडौँ जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजको निजी निवास, निजी तथा सार्वजनिक सम्पत्ति र सञ्चार गृहमा तोडफोड तथा आगजनी गरेको मोर्चाले जनाएको छ ।

मोर्चाले प्रतिगामी षड्यन्त्रका विरुद्ध तथा गणतन्त्रको संवर्द्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि आज आयोजित जनप्रदर्शनमा उल्लेख्य नागरिकको सहभागिताका लागि आभार प्रकट गरेको छ ।

मोर्चामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध छन् ।

ताजा समाचार

Related Articles