काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताउनुभएको छ । साथै उहाँले हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।
अखिल नेपाल किसान महासङ्घ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको आज बनेपामा आयोजित सातौँ जिल्ला अधिवेशनमा उहाँले आन्दोलनका नाममा गरिएका हिंस्रक गतिविधिको निन्दा गर्दै सरकारले दोषीलाई कारबाही गर्ने बताउनुभएको हो ।
उहाँले आन्दोलनका नाममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गर्ने जोसुकैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गर्नुपर्नेमा जोड दिँदै हिंसात्मक गतिविधि गर्ने छुट कसैलाई नभएको बताउनुभयो ।
एमाले पोलिटब्युरो सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले राजतन्त्र फर्कने कोरा कल्पना नगर्न सुझाउँदै देशका प्रमुख राजनीतिक दल र नेपाली जनता सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले यो व्यवस्थालाई सुदृढ बनाउनेतर्फ लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभयो ।