हेटौँडा, चैत १७ गते । हेटौँडा उपमहानगरपालिका ९, लामसुरेधापस्थित मानव सेवा आश्रमलाई दिगो रुपमा सञ्चालनका लागि महायज्ञ आयोजना गरिएको छ ।
श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आइतबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले उद्घाटन गर्नुभयो ।
मुख्यमन्त्री लामाले आश्रमले मान सेवाको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै प्रदेश सरकारले आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले महायज्ञको कोषका लागि व्यक्तिगत २५ हजार रुपियाँ हस्तान्तरण गर्नुभयो ।
अक्षय कोषमा १० करोड रुपियाँ संकलन गर्ने लक्ष्यसहित आयोजना गरिएको महायज्ञमा अक्षकोषमा जम्मा गर्ने गरी हेटौँडा उपमहानगरपलिकाले डेढ करोड रुपियाँ सहयोग गर्नेे भएको छ ।
उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले आश्रमले स्थापना गर्ने अक्षकोषका लागि एक करोड ५० लाख रुपियाँ सहयोगको घोषणा गर्दै अक्षकोषको वृद्धिका लागि सबैक्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।
यस्तै हेटौँडा–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टका संचालक पुरनबहादुर जोशीले पाँच लाख रुपियाँ प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । डा. कृष्ण धिताल र उहाँकी श्रीमती चन्द्रावती अर्यालले पाँच लाख ११ हजार १११ रुपियाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।
महायज्ञकको पहिलो दिन कुष्माण्ड सरोवर त्रिवेणी धामबाट बाजागाजा, साँस्कृतिक झाँकी, शंखनाद, भजनकीर्तनसहित शोभा कलशयात्रा गरिएको थियो । दोस्रो दिनबाट २४ गतेसम्म बिहान ५ बजेदेखि ७ बजेसम्म स्वास्थ्य शिविर, युवासँग सकारात्मक सोच, मानवता प्रवद्र्धन एवम् युवासँग अन्तरिक्रया कार्यक्रम रहने आयोजकले जनाएको छ ।
बिहान ११ बजेदेखि ४ बजेसम्म प्रत्येक दिन भावगत भाष्कर कमल नयन गौतमबाट कथा प्रवचन हुने बताइएको छ । यसअघि चितवन, लमजुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत र धनगढीमा सप्ताह महायज्ञ आयोजना गरिएको थियो ।