हेटौँडा, चैत १७ गते ।
हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहने जनाएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो मधेसबाहेक ६ वटा प्रदेशमा आंशिक बदली हुने पूर्वानुमान छ। मधेस प्रदेशमा भने मौसम सफा रहने छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
ती दुई प्रदेशका हिमाली क्षेत्रमा हिमापातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।