हेटौँडा, चैत १७ गते ।
काठमाडैँको तिनकुनेमा कार्य क्षेत्रमा रहेको पत्रकारको हत्या र सञ्चारगृहमाथि आक्रमणमा संलग्न भएकालाई कारबाही गर्न माग गर्दै पत्रकारहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमाथि आक्रमणको विरोधमा आइतबार पनि मकवानपुरका सञ्चारकर्मीहरुले आन्दोलन जारी राखेका हुन् ।
नेपाल पत्रकार महासंघको आव्हानमा आइतबार मकवानपुरका सञ्चारकर्मीहरुले कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्दै सञ्चरकर्मीको हत्या र सञ्चारगृहमा गरिएको आक्रमणको घटनाको विरोध जनाएका हुन् ।
शुक्रबार पूर्व राजावदीहरुको प्रदर्शनका क्रममा रजकले समाचारका लागि भिडियो खिचिरहेको घरमा राजवादीहरुले उक्त घरमा आगजनी गर्दा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको मृत्युभएको थियो । पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमणको विरोधमा पत्रकार महासंघले थप आन्दोलनका कार्यक्रम तय गरेको छ ।
सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गरिनेभएको छ ।
यस्तै मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली संलग्न रहेको समिति गठन गरिएको छ ।