कैलाशमा सुरक्षित मातृत्वसम्बन्धी अन्तरक्रिया

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत २९ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सुनिश्चिता सम्बन्धी अन्तरक्रिया सम्पन्नभएको छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले नेपालमा मातृत्व स्वास्थ्यको अवस्थाका साथै सुरक्षित मातृत्व र नवशिशु स्वास्थ्यसम्बन्धी मकवानपुर र कैलाश गाउँपालिकाको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँले मातृ स्वास्थ्यको अवस्था, मातृ स्वास्थ्य सम्बन्धी नीति नियमहरु, पूर्ण संस्थागत सुत्केरी आयोजना, आयोजना सञ्चालन हुने क्षेत्रहरु, क्रियाकलापहरुको विवरणका साथै मापदण्ड तथा प्रक्रियाहरुबारे जानकारी गराउँदै कैलाश गाउँपालिकामा गर्भजाँच गत आर्थिक वर्षमा १०८.५७ प्रतिशत रहेको र चालु आवको फागुन मसान्तसम्म ८१.२१ प्रतिशत रहेको बताउनुभयो ।
उहाँले १२ हप्तामा हुने गर्भजाँचमा पालिकामा चालु आवमा ६०.८६ प्रतिशत र गत आर्थिक वर्षमा ९९.२२ प्रतिशत रहेको समेत बताउनुभयो ।
स्वास्थ्य संस्थामा सुत्केरी गराउने संख्या घट्दै रहेको बताउँदै प्रमुख मिजारले कैलाशमा फागुन सम्ममा ४२.७४ प्रतिशत र गत आर्थिक वर्षमा ४९.९ प्रतिशत रहेको बताउनुभयो । यहाँ होमडेलिभरीको संख्या बढ्दो छ । जिल्लामा होमडेलीभरीको संख्या १०४ जना रहेकोमा कैलाशमा मात्रै होमडेलिभरीको संख्या ४४ जना रहेको छ । गाउँपालिकामा सुत्केरी पश्चातको जाँच ४७.८७ प्रतिशत रहेको छ यसलाई बढाउन स्वास्थ्यकर्मीहरुलाई उहाँले आग्रह गर्दै स्वास्थ्यकर्मीहरुको साथ र सहयोगले कार्यसम्पादन गर्न सहजता रहने भएकाले जनस्वास्थ्य कार्यालयले जुनसुकै बेलापनि सहयोग प्रदान गरिने सुनाउनुभयो ।
गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले सुत्केरी र पोषणलगायत कार्यक्रमलाई निरन्तरता दिइरहेको बताउनुभयो । हामीलाई भौगोलिक दृष्टिले र यहाँको शिक्षाको कमीले पनि होमडेलिभरीको संख्या जुन बढी छ त्यसलाई कम गर्न गाउँपालिकाले आवश्यक समन्वय गरी काम गर्नेछौं, अध्यक्ष मुक्तानले भन्नुभयो, वडा नं. ७ मा बढी सुत्केरी घरमै हुनाले कैलाशमा होमडेलिभरीको संख्या बढी भएको देखिन्छ, हामीले दीगो विकास लक्ष्य २०३० अनुरुप काम गर्नुपर्छ त्यसमा पनि गाउँपालिकाले स्वास्थ्य र शिक्षाका सूचकहरु पुरा गर्दै आइरहेको छ ।
गाउँपालिकाले सरसफाइ र स्वास्थ्यसँग जोडेर शौचालय कार्डको सुरुवात गरेका छौं । आफू स्वस्थ रहन पत्रु खानाका साथै चिसो र चिसोजन्य पदार्थ प्रयोग नगर्न अध्यक्ष मुक्तानले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो जसले कालान्तरमा सुगर र किड्नीमा ठुलो असर पर्ने छ । स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर सञ्चालन गरेका छौं केही वडामा वर्थिङ सेन्टर सञ्चालन गर्नुपर्ने देखिन्छ पनि त्यसको लागि आवश्यक तयारी रहेको अध्यक्ष मुक्तानले बताउनुभयो ।
सुत्केरी स्वास्थ्य संस्थामा नै गराउनुपर्नेमा पालिकाका उपाध्यक्ष बालकुमार मल्लले जोड दिँदै घरमा सुत्केरी गराउने संख्या बढिरहेकाले त्यसतर्फ हाम्रो ध्यानाकर्षण भएको बताउनुभयो । वडातहमा रहेका स्वास्थ्यकर्मीहरुले होमडेलिभरी गर्दा हुने बेफाइदा र त्यसको प्रभावबारे जनचेतना फैलाउनु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, स्वास्थ्य शाखा प्रमुख कृष्णकुमार यादव, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत डिलेन्द्र बुढामगरलगायतले आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका वडाध्यक्ष, वडा सदस्य, वडातहमा रहेको स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles