निजी आवासको विस्तृत क्षति आकलन रोशी गाउँपालिकाबाट सुरु

लोकप्रिय

काभ्रे, वैशाख ३ गते ।
विसं २०८१ को मनसुनजन्य विपद्बाट क्षतिग्रस्त निजी आवासहरुको विस्तृत क्षति आकलन काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट सुरु भएको छ। गृहमन्त्री रमेश लेखकले लगत संकलन गरिएका विपद् प्रभावित तीन परिवारलाई निस्सा वितरण गरेर विस्तृत क्षति आकलनको सुरुवात भएको बताउनुभयो।
मन्त्री लेखकले मनसुनजन्य विपद्बाट क्षति भएका निजी घरहरुको पुनर्निर्माण अनुदानका लागि रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइसकिएको जानकारी पनि दिनुभयो।
मन्त्री लेखकले भन्नुभयो, ‘आजदेखि मनसुनजन्य विपद्बाट क्षति भएको घरहरुको विस्तृत क्षति आकलन गर्ने काम प्रारम्भ भएको छ। जुन जुन वडामा विस्तृत क्षति आकलन सम्पन्न हुन्छ, त्यहाँ पुनर्निर्माण वा प्रबलीकरण गर्नुपर्ने परिवारलाई अनुदान वितरण थालिनेछ।’
गत २०८१ असोज १०-१३ गतेसम्म गएको अतिवृष्टि, बाढी तथा पहिरोले देशका विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको थियो। काभ्रेपलाञ्चोक सबैभन्दा प्रभावितमध्ये एक जिल्ला थियो।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले एक महिनाभित्र विस्तृत क्षति आकलन सक्ने लक्ष्य अनुसार स्थलगत रुपमै तालिम संचालन गरेर प्राविधिकहरु खटाइएको बताउनुभयो। कार्यकारी प्रमुख भट्टले आजै काभ्रेपलाञ्चोक जिल्ला विपद् व्यवस्थापन कोषमा सात करोड ३५ लाख रुपैयाँ निकासा भएको पनि जानकारी दिनुभयो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, बागमती प्रदेशसभा सदस्य तीर्थ लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललगायतका उपस्थिति थियो।
विस्तृत क्षति आकलन सुरुवात गर्न राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा रोशी गाउँपालिका– २ नारायणटारमा कार्यक्रम गरिएको हो।

ताजा समाचार

Related Articles