खासकुरा संवाददाता
हेटौँडा, वैशाख ४ गते ।
मकवानपुरले प्रहरीले हेटौँडा अस्पतालको बोर्ड केरमेट गरेको अभियोग लागेकाहरुलाई पाँच दिनको म्याद थप गरेको छ ।
अस्पतालको बोर्ड केरमेट गरी मदन भण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानको नाम हटाउने कार्यमा संलग्न रहेका छ जनामाथि थप अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट बिहीबार पाँच दिनको म्याद थपभएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले हेटौँडाका सुनिल गिरी, सफल अधिकारी, विशाल राज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई नियन्त्रणमा लिएको छ ।
गत चैत ३१ गते हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने माग राख्दै हेटौँडा अस्पताल बचाउ अभियानका अभियानकर्मीहरुले अस्पतालको बोर्डमा केरमेट गरेर प्रतिष्ठानको नाम हटाएका थिए ।
जिल्ला प्रहरी कार्यलय मकवानपुर पुगेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले प्रहरी हिरासतमा रहेकाहरुमाथि थप अनुसन्धान बढाउन म्याद थप गरिएको जानकारी दिनुभयो ।
प्रहरी हिरासतमा रहेकाहरु प्रहरी कार्यालयमा आफै आएको बताउँदै उहाँले भन्नुभयो, हामीले उहाँहरुकाके खोजी गरिरहेका थियौँ दवाव परेपछि उहाँहरु बिहीबार आफै आउनुभएको छ, अहिले हिरामतमा हुनुहुन्छ, अदालतबाट म्याद थप गरेका छौँ ।
अस्पतालको बोर्डमा केरमेट गरेर प्रतिष्ठानको नाम हटाउनुका साथै अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम हटाएर नयाँ बोर्ड राखिएको थियो ।
घटनापछि प्रतिष्ठानले विज्ञति जारी गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको थियो । युवालाई प्रहरीले छलफलमा बोलाएर नियन्त्रणमा लिएको आरोप लगाइएको छ । पक्राउपछि अस्पताललाई प्रतिष्ठान मातहत राख्नु हुँदैन भन्ने पक्षधरहरुले बिहीबार साँझ जिल्ला प्रहरी कार्यलय अगाडि पूर्वपश्चिम सडक खण्ड केही समयका लागि सडक अवरुद्ध गरेका थिए । साथै टायर बालेर विरोध जनाउँदै युवालाई तत्काल छाड्नसमेत माग गरेका थिए ।