खासकुरा संवाददाता
हेटौँडा, वैशाख ४ गते ।
हेटौँडा उपमहानगरपालिका ४ स्थित एक निजी सैलुनलाई एसी र इन्भर्टर जोड्न नगरप्रमुखले तोक आदेश दिएको भन्दै सार्वजनिक घटना तथ्यहीन र अतिरञ्जित भएको हेटौँडा उपमहानगरपालिकाले जनाएका छ ।
नगरप्रमुख मीना कुमारी लामाले उपमहानगपालिकाको बजेटबाट सैलुनमा एसी जोड्न तोक आदेश दिएको विषयमा आएका समाचार भ्रमपूर्ण रहेको भन्दै नगरपालिकाले बिहीबार विज्ञप्ति प्रकाशित गरी खण्डन गरेको हो ।
उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेद्वारा जारी विज्ञप्तिमा उपमहानगर र नगर प्रमुखसँग सम्बन्धित भई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
सामाजिक सञ्जाल र अनलाइन समाचारहरूमा आए जसरी कुनै पनि व्यक्तिलाई उपमहानगरपालिकाबाट बजेट नदिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
’नियमसंगत ढंगबाट प्राप्त निवेदनलाई दर्ता गरी सम्बन्धित शाखाबाट अध्ययन तथा प्रक्रियामा लगिएको’ हुन्छ विज्ञप्तिमा भनिएको सञ्चारमाध्यममा आएजस्तो गरी व्यक्तिगत लाभको लागि कुनै बजेट विनियोजन गरिएको छैन ।
उपमहानगरपालिकामा प्राप्त निवेदनलाई आवश्यकता, औचित्य र कानुनी प्रक्रियाको आधारमा मात्र मागको सम्बोधन गर्ने गरेको उपमहानगरपालिकोको भनाई छ ।
‘स्थानीय सरकार भनेको नागरिकको घरआँगनको सरकार हो । यहाँ नागरिकका साना ठुला हरेक समस्या दर्ता गरिन्छन् र तिनको समाधानका लागि स्थानीय सरकार सधैँ संवेदनशील र प्रतिबद्ध रहन्छ,’ न्यौपाने द्वारा विज्ञप्तिमा भनिएको छ, ‘नागरिकबाट प्राप्त हुने गुनासा, निवेदन वा सुझावहरूलाई दर्ता गरी सम्बन्धित शाखाबाट अध्ययन गराउने र आवश्यकताअनुसार कानुनी तथा प्रक्रियागत मूल्यांकनपश्चात् मात्रै सम्बोधन गर्ने हाम्रो स्थायी प्रक्रिया हो । हाल चर्चामा आएको “नगरप्रमुखले एसी जोड्न निर्देशन दिएको” भन्ने समाचार पूर्णतः तथ्यहीन र अतिरञ्जित छ ।’
विज्ञप्तिमा भनिएको छ,नगरप्रमुखबाट कुनै व्यक्तिगत निर्देशन नदिइएको र प्राप्त निवेदनलाई नियमअनुसार दर्ता गरी सम्बोधनको प्रक्रिया मात्र अघि बढाइएको छ ।
हेटौँडा–४ स्थित ‘दी नाइन्टिन सैलुन’लाई एसी र इन्भर्टर सहयोग गर्ने तोक अदेश दिएर प्रक्रिया अगाडि बढाएको पत्र सार्वजनिक भएसँगै नगरप्रमुख लामालेका आलोचना सुरु भएको थियो ।