खासकुरा संवाददाता
हेटौँडा, वैशाख ५ गते ।
बागमती प्रदेश मातहत रहेको हेटौँडा अस्पतालको बोर्ड केरमेट गरेको अभियोगमा नियन्त्रणमा लिएका छ जनालाई प्रहरीले रिहा गरेको छ ।
प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठको आदेशमा हेटौँडा अस्पतालको बोर्डबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम मेटेको अभियोगमा नियन्त्रणमा लिएको हेटौँडा–५ का विशालराज महत, हेटौँडा–४ का सुनिल गिरी, हेटौँडा–६ का सफल अधिकारी, मकवानपुरगढी–५ का राजकुमार घिमिरे, अस्मित अधिकारी र समुन्द्र दाहाललाई शुक्रबार रिहा गरिएको हो । बिहीबार नियन्त्रणमा लिएका उनीहरुमाथि थप अनुसन्धान गर्न भन्दै मकवानपुर जिल्ला अदालतबाट पाँच दिनको लागि म्याद थप गरिएकोमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले २४ घण्टा नबित्दै जरिवाना गरेर रिहा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले नियन्त्रणमा लिएकाहरुलाई जनही सात सय रुपियाँ जरिवाना गरी रिहा गरिएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका छलफलका लागि भनेर बोलाएर नियन्त्रणमा लिएको जनाइएको छ ।
गत चैत ३१ मा अस्पतालको बोर्ड केरमेट गरी हेटौँडा अस्पतालको बोर्डबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम मेटाएका थिए । हेटौँडा अस्पताललाई प्रतिष्ठन मातहत राख्न नहुने भन्दै हेटौँडा अस्पताल बचाउ अभियानकर्मी आन्दोलित छन् । अभियानकर्मीहरुलाई प्रहरी नियन्त्रणमा लिएपछि त्यसको विरोधमा बिहीबार हेटौँडामा सडक अवरुद्ध गरिएको थियो ।