अढाई सय सहकारीविरुद्ध उजुरी

लोकप्रिय

हेटौँडा, चैत १२ गते ।
सहकारी संस्थामा सञ्चालकको आन्तरिक विवादसँगै आर्थिक अपचलन बढ्दै गएपछि सहकारी संस्थाविरुद्ध उजुरी दिने क्रम बढ्दो छ । सहकारीले बचत फिर्ता नदिएको, आर्थिक हिनामिना भएको भन्दै बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा चालु आर्थिक वर्षको हालसम्ममा २५५ वटा उजुरी दर्ता भएको छ ।

मन्त्रालयका प्रवक्ता उत्तम चापागाईंले सहकारीमा विभिन्न समस्या आएपछि सहकारीका सदस्यले उजुरी दर्ता गर्ने क्रम बढेको बताउनुभयो । उहाँले बचत फिर्ता नदिएको, सहकारीबाट ठगिएको, आर्थिक हिनामिना गरेको, सहकारीको भावना अनुसार सहकारी संस्था सञ्चालन नभएको, सहकारी संस्थाका पदाधिकारीबिचको विवादलगायतका समस्यासहित उजुरी दर्ता भएको जानकारी दिनुभयो ।

छरिएर रहेको पुँजी एकत्रित गरी सहकारीको माध्यमबाट उत्पादन, बजारीकरण तथा गरिबी निवारणमा सहयोग पु¥याउनेलगायतका उद्देश्यसहित सहकारी स्थापना भए पनि त्यसको विपरीत सीमित व्यक्ति र कतिपय सहकारीका सञ्चालकले सहकारीमा सेयर सदस्यले जम्मा गरेको रकम प्रभावकारी रूपमा सहकारी संस्थाको नियमन र अनुगमन नहुँदा दुरुपयोग बढ्दै गएको हो ।

मन्त्रालयमा दर्ता भएका सहकारी संस्था तीन हजार २४२ रहेकोमा तीमध्ये चालु आवमा नयाँ दर्ता भएका सहकारी संस्था ३० वटा रहेका छन् । प्रवक्ता चापागाईंले उजुरी परेका सहकारी संस्थालाई पत्राचार गरी कार्ययोजनासहित आउनभन्दासमेत अटेरी गर्ने, बचत फिर्ता नगर्नेलगायतका समस्या भएका सहकारी संस्थामाथि छानबिनका लागि प्रहरीमा ४३ सहकारी संस्था पठाइएको बताउनुभयो । ती सहकारी संस्थाका बारेमा केन्द्रीय अनुसन्धान ब्युरोमा छनबिन भइरहेको बताउँदै उहाँले एउटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको बताउनुभयो । प्रदेश सरकारले गत भदौमा काठमाडौँ महानगरपालिका–१४ मा रहेको सिभिल सेभिङ एन्ड कोअपरेटिभ लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

मन्त्रालयमा उजुरी परेका सहकारी संस्थामध्ये छलफलपछि १०५ वटा सहकारी संस्थाको समस्या समाधान भएको र चालु आवको हालसम्ममा मन्त्रालयमा साधारण सभाको विवरण बुझाउने सहकारी संस्था ९११ वटा रहेको छ ।

यसैबिच मन्त्रालयले सहकारी संस्थाबाट ऋण लिएका ऋणीले तोकेको समयमा साँवा तथा ब्याज चुक्ता नगर्दा सहकारीका सदस्यको बचत फिर्ता गर्न नसकेको भन्दै समयमा नै ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles