बागमतीमा पुलः चार महिना बाँकी हुँदा चालीस प्रतिशत काम

लोकप्रिय

हेटौैँडा, चैत २९ गते । ललितपुर जिल्लाको बागमती गाउँपालिका र मकवानपुरको बकैया गाउँपालिका जोड्ने गरी निर्माणाधीन पक्की पुलको काममा ढिलाइ भएको छ ।

बकैया गाउँपालिका–१० स्थित घैयाटार र ललितपुर जिल्लाको बागमती गाउँपालिका–४ जोड्ने उक्त पुल निर्माण सम्पन्न गर्नुपर्ने समय चार महिना मात्र बाँकी हुँदा जम्मा ४० प्रतिशत काम मात्र सम्पन्न भएको छ ।

बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत निर्माणाधीन उक्त पक्की पुल २०७८ चैत २८ गतेबाट २०८१ असार २८ गतेभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने समयावधि तोकेर निर्माण कम्पनीसँग निर्माण सम्झौता भएको थियो ।

पूर्वाधार विकास कार्यालय ललितपुरका कार्यालय प्रमुख नवीनकुमार सिंहले पुल निर्माणमा ढिलाइ भएको बताउँदै हालसम्म पुल निर्माणको भौतिक प्रगति ४० प्रतिशत मात्र रहेको जानकारी दिनुभयो । उहाँले पुलको तीन वटा पिलर र दुई स्पानसहित बन्ने उक्त पुलको तीन वटै पिलर निर्माणको काम पूरा भएको बताउँदै एउटा स्पानको ढलानका लागि फर्मा हाल्ने र रड राख्ने काम भइरहेको बताउनुभयो ।

उहाँले एउटा स्पानको ढलानका लागि तयारी अन्तिम चरणमा पुगेको र आगामी वैशाखको पहिलो सातामा ढलान हुने अपेक्षा राखिएको बताउनुभयो ।

निर्माणाधीन पुलको लम्बाइ ९० मिटर र चौडाइ ८.४ मिटर रहेको छ । कार्यालय प्रमुख सिंहले भन्नुभयो, “पुलको ललितपुरतर्फको स्पानको ढलान सकिएपछि मकवानपुरतर्फको स्पान ढलान गरिने छ ।”

त्यस क्षेत्रमा बागमती नदीमा बकैया गाउँपालिकाको वडा नं. १० र ललितपुरको बागमती गाउँपालिका जोड्ने गरी घैयाटार, कुराबारी, धुँवाकोटलगायतका स्थानमा गरी पाँच वटा झोलुङ्गे पुल छन् । पक्की पुल भने बगुवापछि निर्माणाधीन पुल दोस्रो हो ।

कान्ति लोकपथ अन्तर्गत बगुवामा मकवानपुरको बकैया र भीमफेदी गाउँपालिकाको सिमाना र ललितपुरको बागमती गाउँपालिका जोड्ने गरी बनाइएको पक्की पुल सञ्चालनमा रहेको छ ।

बकैया गाउँपालिकाको वडा नं. १० का अध्यक्ष कमलाकुमारी वाइवा पुल निर्माण तोकिएको समयमा पूरा नहुँदा वर्षायाममा स्थानीयलाई आवागमनमा समस्या हुने बताउनुहुन्छ । उहाँले उक्त पक्की पुल निर्माणपछि बकैया र बागमती गाउँपालिकाका बासिन्दाको सङ्घीय राजधानी काठमाडौँसँगको पहुँचमा वृद्धिसँगै आवागमन सहज हुने बताउनुभयो ।

उक्त पुल निर्माण भएपछि हेटौँडा–धरान–चतरा मार्गबाट बगुवा हुँदै कान्ति लोकपथ भएर काठमाडौँ पुग्न सकिन्छ । निर्माणसँगै मकवानपुरसँग जोडिएको सिन्धुली र रौतहट जिल्लाका पालिकाका बासिन्दासमेत लाभान्वित हुने छन् ।

कान्ति लोकपथ हुँदै ललितपुरबाट उक्त पुल भएर मकवानपुरको साबिकको मन्थली गाविसको घैयाटारबाट हेटौँडा–धरान–चतरा मार्गसँग जोडिने तीन वटा सडक रहेको बताउँदै उहाँले भन्नुभयो, “पुल निर्माणपछि मकवानपुरको पूर्वी क्षेत्रको आर्थिक जीवनमा परिवर्तन हुने छ ।”

मकवानपुरको साबिकको मन्थली गाविसको घैयाटारबाट गैरीगाउँ हुँदै कालीदमारबाट बकैया–३ स्थित हात्तीसुँढे, घैयाटार–शिखरपुर–हात्तीसुँढे र घैयाटार–बेतिनी–फापरबारीबाट हेटौँडा–धरान–चतरा सडकखण्डमा जोडिने छ ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने पुल निर्माण हुँदा पालिकाले पनि पुलसम्म पुग्ने पालिकाभित्र पर्ने सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने बताउनुहुन्छ । पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले पुल निर्माणपछि जिल्लाको पूर्वी क्षेत्रका नागरिकलाई काठमाडौँ आवतजावत गर्न सहजतासँगै यस क्षेत्रको आर्थिक गतिविधिसमेत बढ्ने बताउनुभयो ।

बागमती नदीमा बगुवामा बाहेक मकवानपुर र ललितपुरलाई जोड्ने गरी पक्की पुल निर्माण नहुँदा बकैया र बागमती गाउँपालिकाका नागरिकले अहिले हेटौँडा आएर काठमाडौँ जानुपर्ने बाध्यता रहेको छ ।

निर्माणाधीन पुलको पहुँच मार्गको काम भइरहेको पूर्वाधार विकास कार्यालय ललितपुर कार्यालयले जनाएको छ तर पुल निर्माण कार्य तोकिएको समय सीमा असारभित्रमा सम्पन्न हुने सम्भावना टर्दै गएको र म्याद थप्नुपर्ने अवस्था आउन सक्ने कार्यालय प्रमुख सिंहले बताउनुभयो ।

ताजा समाचार

Related Articles