सहुलियतपूर्ण ऋणको बजेट कटौती

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ११ गते ।
बागमती प्रदेश सरकारले सहुलियतपूर्ण ऋण लगानी गर्न विनियोजन गर्दै आएको बजेटमा कटौती गरेको छ । सहुलियतपूर्ण ऋण लगानी प्रभावकारी नभएको भन्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा वित्तीय व्यवस्थापनतर्फ सहुलियतपूर्ण ऋण लगानीको रकम कटौती गरेको हो ।
उत्पादन र रोजगारीको सिर्जना गर्न भन्दै आव २०७७/०७८ देखि प्रदेश सरकारले सहुलियतपूर्ण ऋण लगानी कार्यविधि बनाएर कृषि, उद्योग, व्यापार व्यवसायका लागि ऋण लगानी गर्दै आएको छ ।
आव २०७७/०७८ मा सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउन तीन अर्ब रुपियाँको कोषको लागि बजेट व्यवस्था गरिएको थियो ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले कृषि विकास बैङ्क लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडसँग ऋण लगानीसम्बन्धी सम्झौता गरी बैङ्क तथा लघुवित्त वित्तीय संस्थालाई कोषबाट निकासा गर्ने र ती संस्थाले ऋण लगानी गर्ने गर्दै आएका छन् ।
आव २०७८/०७९ र गत आवमा न्यून आय भएका परिवारलाई लक्षित गरी कार्यक्रमको निरन्तरताको लागि भन्दै दुई–दुई अर्ब रुपियाँ विनियोजन गरिएको थियो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सहुलियतपूर्ण ऋण लगानी कार्यक्रमले सामान्य नागरिक र किसान लाभान्वित नभएको र पहुँचवालाहरुले ऋण लगेको भन्दै बजेट आउन पूर्व सार्वजनिक कार्यक्रममा उक्त कार्यक्रम हटाउने बताउँदै आउनुभएको थियो ।
तर आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले कार्यक्रमलाई कृषि उत्पादन र उद्यमशीलता विकासमा केन्द्रित गरिने भन्दै गत असार १ गते ल्याउनुभएको बजेटमा घटाएर ५० करोड रुपियाँको कोषको लागि बजेट विनियोजन गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles