प्रगति माविको क्याप्टेनमा क्रिन्ची यादव निर्वाचित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ९ गते ।
पछिल्लो समय निजी तथा सामुदायिक विद्यालयमा विद्यार्थीहरुबिच निर्वाचनसम्बन्धी सचेतना र लोकतान्त्रिक अभ्यास गर्ने क्रम सुरुभएको छ ।
यसैक्रममा हेटौँडा उपमहानगरपालिका ९ स्थित प्रगति माविमा आमनिर्वाचनकै झल्को दिने गरी शुक्रबार निर्वाचन गरिएको छ । निर्वाचनबाट विद्यालय क्याप्टेन तथा सहक्याप्टेन चयन गरिएको छ ।

विद्यालयमा भएको निर्वाचनमा क्याप्टेनमा कक्षा १० का क्रिन्ची यादव निर्वाचित हुनुभएको छ । उहाँ १८१ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

यसैगरी छात्रातर्फबाट कक्षा १० कै कृज्मा अर्याल १३२ मत ल्याएर सहक्याप्टेनमा निर्वाचित हुनुभएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले मतदान गरेको निर्वाचनमा ५८० जना विद्यार्थी मतदानमा सहभागिता जनाएका थिए । एक जना क्याप्टेन र एक जना सहक्याप्टेन पदका लागि ११ जनाको उम्मेद्वारी परेको थियो ।

हाउस क्याप्टेन निर्वाचनकै माध्यमबाट रेड हाउसबाट युनिष्का खनाल र ब्लु हाउसबाट रन्जित साह कलवार विजयी हुनुभएको विद्यालयले जनाएको छ । यसैगरी एलो हाउसबाट जिज्ञासा र ग्रिन हाउसबाट गोलु सिंह विजयी हुनुभएको छ । उहाँहरुलाई सोही हाउसका विद्यार्थीहरुले मात्र मत दिएका थिए ।

विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका ज्ञान दिने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको सहायक प्रधानाध्यापक ज्योति न्यौपानेले बताउनुभयो । निर्वाचन आयोगले निर्वाचनका सम्पूर्ण सामग्री सहयोग गरेको थियो । निर्वाचनका लागि निर्वाचन समिति नै गठन गरी शिक्षकहरुलाई मतदान अधिकृत, सहायक मतदान अधिकृत बनाई निर्वाचन गराइएको थियो । हरेक कक्षा र सेक्सनका लागि छुट्टाछुट्टै मतदान गर्न बुथको व्यवस्था गरिएको थियो ।

यस्तै हेटौँडा २ स्थित बालजागृति इङ्ग्लिस सेकेण्डरी स्कूलले विद्यार्थीलाई निर्वाचनसम्बन्धी सचेतना अभिवृद्धि गर्न तथा विद्यार्थीको विद्यालय प्रतिनिधि चयन गर्न निर्वाचन सम्पन्न गरेको छ ।

ताजा समाचार

Related Articles