काठमाडौँ , जेठ १७ गते । काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको बुक फ्री फ्राइडे (पुस्तकरहित शुक्रबार) कार्यक्रम कार्यान्वयनमा ल्याउन र महानगरपालिकासँग शैक्षिक सुधारका कार्यक्रममा सहकार्य गर्न तयार रहेको संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले धारणा राख्नुभएको छ ।

शुक्रबार सहरी योजना आयोग र शिक्षा विभागको संयुक्त आयोजनामा महानगरपालिकाको कार्यपालिका बैठक कक्षमा सम्पन्न भएको बैठकमा उहाँहरुले महानगरपालिकाले तर्जुमा गरेका शैक्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न र शैक्षिक सुधारका लागि साथसाथै गर्नु पर्ने कार्यका लागि सहकार्य गर्न तयार रहेको भनाइ व्यक्त गर्नुभएको हो ।

महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिरहेको बुक फ्री फ्राइडे (पुस्तकरहित शुक्रबार) संस्थागत विद्यालयमा कार्यान्वयन गर्ने, जेठ २८ गतेदेखि असार ६ गतेसम्म टिचर्स कलेज कार्यक्रमअन्तर्गत महानगरपालिकाले शिक्षकहरुका लागि क्षमता विकास तालिम सञ्चालन गर्ने, विद्यालयहरुमा सबैको पहुँच सुनिश्चित गर्न डाउन सिन्ड्रोम र अटिजमजस्ता विशेष क्षमता भएका बालबालिकाहरुका लागि कक्षा सञ्चालन गर्न विशेष क्षमता सहयोगी सहजकर्ताको परिचालन गर्ने विषय छलफलका मुख्य विषय थिए ।

हरेक स्रोत केन्द्रबाट प्रतिनिधित्व हुने गरी प्रधानाध्यापकहरुलाई आमन्त्रण गरिएको वैठक २ चरणमा आयोजना गरिएको थियो । बैठकमा करिब ६० जना प्रधानाध्यापक सहभागी हुनुहुन्थ्यो ।

वैठकमा प्रस्ताव गरिएका विषयमाथि छलफल गर्दै उहाँहरुले, महानगरपालिकाले संस्थागत विद्यालयहरुलाई यसरी छलफलमा पहिलो पटक बोलाएको उल्लेख गर्दै यसले आफूहरुले अभिभावक पाएको प्रतिक्रिया दिनुभयो ।

संस्थागत विद्यालयहरुले क्लबमा आधारित प्रयोगात्मक कक्षा सञ्चालन गरिरहेको जानकारी गराउँदै उहाँहरुले भन्नुभयो, ‘अभिभावकले पढ्न पढाएका नानीबाबुहरुको शैक्षिक क्षमतामा जोड दिनुहुन्छ ।

अन्य क्षमतामा कम जोड पाइन्छ । अभिभावकको यो मनोविज्ञान बुझेर कार्यक्रम कार्यान्वयनमा ल्याउनु पर्छ । यसका लागि अभिभावक शिक्षाका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।




