खासकुरा संवाददाता
हेटौँडा, असार १० गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट पारितभएको छ ।
गाउँपालिकाको कुलेखानीमा बसेको १५ औँ गाउँसभाले गाउँपालिकाको आगामी आवको नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाले गाउँसभा आगामी आवका लागि ४१ करोड ७२ लाख रुपियाँ अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
आगामी आवको बजेटको खर्च बेहोर्ने स्रोतमा आन्तरिक आयबाट चार करोड ३८ लाख ३८ हजार ५३४ रुपियाँ र बाँकी राजस्व बाँडफाँड तथा प्रदेश र संघको अनुदान प्राप्त हुने पालिकाका उपाध्यक्ष लामाले बताउनुभयो ।
उहाँले कृषि, पूर्वाधार निर्माण र सामाजिक विकासलाई प्राथमिकतामा राखेर आगामी आवको बजेट ल्याइएको छ ।
गाउँसभामा पालिका अध्यक्ष देवकृष्ण पुडासैनीले कृषिको आधुनिकीरण, व्यवसायीकरण र बजारीकरणलाई प्राथमिकतामा राख्दै आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
यस्तै पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन प्रवद्र्धन, गुणस्तरीय र दिगो पूर्वाधार विकास, प्राविधिक तथा गुणस्तरीय शिक्षा र गुणस्तरीय तथा सर्वशुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिकाले आर्थिक विकासको लागि रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा प्रभावकारिता, विभेद र असमानताको अन्त्य र समन्यायिक विकास र विकासको प्रतिफलको न्यायोचित वितरणलाई नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।




