खासकुरा संवाददाता
हेटौँडा, साउन ४ गते । प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद्को आर्थिक सहयोग र निजी तालिम प्रदायक संस्थाहरूको प्राविधिक सहयोगमा नुवाकोट जिल्लाका विभिन्न पालिकामा सञ्चालित सीपमूलक तालिम सम्पन्न भएको छ । तालिमका सहभागीहरुलाई बिदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता तथा परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामाको अध्यक्षतामा शुक्रबार नुवाकोटमा आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको छ ।
बिदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, ताँदी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, बेलकोटगढी नगरपालिकाका उपप्रमुख शिव प्रसाद दाहाल, म्यागङ्ग गाउँपालिकाका उपाध्याक्ष सीता तामाङको विशेष आतिथ्यतामा भएको तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा बिदुर नगरपालिकाका वडा नं १, २,४ र ११ का वडाअध्यक्षहरूको आतिथ्यता रहको थियो ।
नुवाकोट जिल्लाका करिब २२० जनालाई व्युटिसियन, सिलाई कटाई, फेसन डिजाइन, बिल्डिङ इलेक्ट्रिसियनलगायतको ३९० घण्टा कार्यअवधिको सीपमूलक तालिम प्रदान गरिएको थियो ।
साथै तादी गाउँपालिका, किस्पाङ गाउँपालिका र बिदुर नगरपालिकाको लागत साझेदारी सञ्चालित तालिम कार्यक्रमका करिब ६० जना सहभागीहरूलाई कार्यक्रममा तालिम सम्पन्न प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका अध्यक्ष एवम् यस परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामाज्यूले सीप परीक्षणमा सहभागीहरुलाई प्राप्त सीपलाई प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।




