देशभर क्रिकेट मैदान निर्माण गरिँदै

लोकप्रिय

काठमाडौँ, भदौ २१ गते

नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

काठमाडौँको मूलपानीस्थित क्रिकेट रङ्गशाला निर्माण आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । उक्र रङ्गशालाको भिआइपी प्यारापिट ब्लक ढलान भई प्लास्टरको काम भइरहेको छ ।

यस्तै भैरहवा क्रिकेट रङ्गशालामा ‘ब्लक बी’ आयोजनाको २२ दशमलव पाँच प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमीको ‘ब्लक एच’ र कास्कीको पोखरा क्रिकेट रङ्गशालाको एउटा ब्लक निर्माणकार्य सुरु भएको मन्त्रालयको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति समीक्षा कार्यक्रममा जानकारी दिइयो ।

यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित क्रिकेट रङ्गशाला निर्माणका लागि मैदान तयार गर्ने कार्य भएको छ भने सुर्खेत क्रिकेट खेलमैदानको काम चालु छ । काठमाडौँको बूढानीलकण्ठ क्रिकेट रङ्गशालाको मैदानको कार्य सुरु गरिएको छ भने गण्डकी प्रदेशको पोखरा रङ्गशाला निर्माण आयोजना सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेशमा कैलालीको धनगढी रङ्गशालाको ४६ प्रतिशत निर्माणकार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ । नेपालगन्ज रङ्गशालामा भने सेन्थेटिक ट्रयाक निर्माणका लागि डे«न ढलानकार्य भइरहेको छ । उक्त आयोजनाको ७७ प्रतिशत निर्माणकार्य पूरा भएको छ ।

बाराको सिमरा रङ्गशालाको ४१ प्रतिशत, नारायणी रङ्गशालाको २० प्रतिशत, पाँचथरको फिदिम रङ्गशालाको १५ दशमलव ८५ प्रतिशत तथा सुनसरीको धरान रङ्गशालाको ५४ प्रतिशत निर्माणकार्य पूरा भएको छ । पोखरा रङ्गशालामा बोरिङ निर्माणकार्य सुरु गरिएको छ भने ललितपुरमा च्ययासल रङ्गशाला निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

नारायणी कभर्डहलको निर्माणको ३० प्रतिशत, चुनिखेल कभर्डहलको २० प्रतिशत र रामेछापको सुनापति राष्ट्रिय स्मृति कभर्डहलको २० प्रतिशत निर्माणकार्य पूरा भएको छ । हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि मनाङको तिमाङमा खेलमैदान सम्याउने, घेराबार गर्ने र पर्खाल लगाउने काम भइरहेको छ भने जुुम्लामा मैदान सम्याउने काम पूरा भएको छ ।

काठमाडौँको कागेश्वरी मनोहरामा खेलाडी आवासगृह र ललितपुरको सातदोबाटोमा तेक्वान्दो खेलाडीका लागि आवासगृह निर्माण गर्न डिपिआर तयार भएको मन्त्रालयको समीक्षा प्रतिवेदनमा उल्लेख छ । निर्माण सम्पन्न भएका पूर्वाधारको नियमित सम्भारका लागि बजेट व्यवस्थापन र केन्द्र, प्रदेश र स्थानीय तहका विभिन्न खेलमैदानका लागि रकम विनियोजन गर्ने कार्यलाई पनि सरकारले नियमित गरेको छ । सरकारले आगामी २०८१ सालमा कर्णली प्रदेशको सुर्खेतमा आयोजना गरिने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणका लागि बजेटको आवश्यक जोहो गरिरहेको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

Related Articles