खासकुरा संवाददाता
हेटौँडा, भदौ ५ गते । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले महिला पत्रकार प्रजनन् स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोषको शुभारम्भ गरेको छ ।
महिला पत्रकारहरूको प्रजनन् स्वास्थ्य उपचार र सुरक्षित सुत्केरी प्रवर्द्धनका लागि सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषको बिहीबार आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले कोषको शुभारम्भ भएको घोषणा गर्नुभएको हो । कोषका लागि उपमहानगरपालिकाले पाँच लाख रुपियाँ उपलब्ध गराउनेभएको छ ।
कार्यक्रममा नगर प्रमुख लामाले महिला पत्रकारहरूको प्रजनन् स्वास्थ्य र सुरक्षित सुत्केरीका लागि महासंघले कोष स्थापना गर्नु सकारात्मक भएको बताउनुभयो ।
उपमहानगर महिलाको विषयमा निकै संवेदनशील रहेको उल्लेख गर्दै उहाँले यो कोषले महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले महिला पत्रकारहरूका लागि यो कोष स्थापना गर्नु महत्वपूर्ण भएको भन्दै राज्यले महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख लामा, उपप्रमुख बानियाँ, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र ब्रोडकास्टिङ एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईंले कोषमा १०/१० हजार रुपियाँ सहयोगको घोषणा गर्नुभयो ।
कोषले मकवानपुरका महिला पत्रकारहरूको प्रजनन् स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ मकवानपुरको तर्फबाट पत्रकार महासंघका लागि स्यानीटरी प्याड, सुत्केरी महिला पत्रकारका लागि खाद्य सामग्री प्रदान गरिएको थियो । सहयोगी मन नेपालले पनि महासंघलाई ब्लड प्रेस नाप्ने उपकरण सहयोग गर्नुका साथै प्रत्यक सुत्केरी पत्रकारलाई पाँच लिटर तेल सहयोग गर्ने घोषणा गरेको छ ।




