खासकुरा संवाददाता
हेटौँडा, भदौ १८ गते । १४ वर्षअघि सडकबाट उद्धार गरिएका राजु अधिकारीको निरन्तरको संघर्षले परिचयसँगै पहिचान फेरिएको छ । २०६८ सालमा सडकमा अरुले दिएको खाएर र मागेर जीवन गुजारा गर्दै आएका राजुको मामाघर नेपाल मकवानपुरको साथ र सहयोगले विगतको पहिचान फेरिन सम्भव भएको हो ।
सडक बालकका रुपमा आठ वर्षको उमेरमा उद्धार गरिएका राजु यतिखेर आफ्नै पौरखमा रम्नसक्ने बन्नुभएको छ ।
मामाघर नेपाल मकवानपुरले १४ वर्षअघि सडक बालकको रुपमा उद्धार गरेको पहिलो बालक राजुलाई बुधबार आफ्नै घरमा प्रवेश गराइएको छ । हेटौँडा बजारमा सडकमा भेटिएका राजुको अब हेटौँडा उपमहानगरपालिका वडा नं. ११ डाङ्डुङेमा आफ्नै निवास बनेको छ ।
मामाघर नेपाल र राजुको स्वआर्जनमा १० धुर जग्गामा बनेको चार कोठे घर खरिद गरिएको हो । हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीना कुमारी लामाले एक कार्यक्रमका बिच राजुलाई गृह प्रवेश गराउनुभएको थियो ।

मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीले सबै सडक बालबालिकालाई पारिवारिक वा सामाजिक पुनर्स्थापन गर्ने हाम्रो लक्ष्य अनुसार राजुको गृह प्रवेश उपलब्धिमुलक रहेको भन्दै आफूहरु सडक बालबालिकामुक्त समाज बनाउन प्रतिवद्ध रहेको बताउनुभयो । दीगो आर्थिक स्रोत अभाव भए पनि स्थानीय दाताको दान , चन्दा, उपहार र सहयोगमा मामाघर नेपाल मकवानपुर चल्दै आएको छ ।
आज मेरो जीवनको अत्यन्तै खुसीको दिन, २०६८ सालमा सडक बालकको रूपमा हेटौँडाबाट उद्धार गरिएका राजु अधिकारीलाई मामाघर नेपाल मकवानपुरले संरक्षण गर्दै आएको थियो अध्यक्ष पराजुलीले भन्नुभयो, लागू औषधको दुर्व्यसन, अनेक असामाजिक गतिविधिमा संलग्नता, न संस्कार, न वर्तमान र भविष्यको चिन्ता, कवाडीको थुप्रोमा भाग्य र भविष्य खोजिरहेको राजुलाई सामान्य मानिस झैँ बनाउन नै अनेकन कार्य गरियो ।
उहाँले भन्नुभयो, औपचारिक शिक्षाको प्रयास सफल नभएपछि विभिन्न सिपहरु सिकाउने प्रयत्न गरियो, पत्रिका हकर, फ्रिज मर्मत , इलेक्ट्रिसियन, प्लम्बिङ, बारिस्ट अनेक तालिम दिइयो ।
खेलकुदमा लागेर हकिको राष्ट्रिय खेलसम्म खेल्न पुगे । जबसम्म आफ्नै घर हुँदैन, आफ्नो परिचय नै हुँदैन त्यसैले आफ्नै घर बनाउन पर्छ राजु भन्दै सम्झाउँदै गर्दा अन्ततः विदेश जाने रहर पलायो राजुमा । आफ्नो स्थायी ठेगाना र परिचय बनाउने लक्ष्य बोकेर कतार पुगेका राजु अन्ततः आफ्नै घर जोड्न सफल हुनुभएको छ पराजुलीले भन्नुभयो ।

कतारमा अनेकन दुःख भोगे, म हतास भईन जसको परिणाम अहिले मेरो सपना पूरा भएको राजुले सुनाउनुभयो ।
हेर्दा घर सानो होला तर हाम्रो लागि यो दरवारभन्दा कम छैन, राजुको घरपरिवार भेटेर पारिवारिक पुर्नस्थापन गराउन नसके पनि सामाजिक पुर्नस्थापन गराउन सफल भएको महसुस गरेको पराजुलीको भनाई छ । आफ्नै काखमा हुर्केको ब्यक्तिले अनेक आरोहअवरोह पार गर्दै प्राप्त गरेको यो उपलब्धि चानचुने होइन अध्यक्ष पराजुलीले भन्नुभयो, राजुको गृह प्रवेस ब्यक्तिको गृहप्रवेश मात्रै नभै प्रवृत्तिको रूपान्तरण हो ।
मामाघर नेपाले उद्धार गरेका बालबालिकालाई सक्षम बनाएर पुर्नस्थापन गर्नुपर्ने दायित्व रहेको उहाँले बताउनुभयो ।




