खासकुरा संवाददाता
हेटौँडा, भदौ ३१ गते । मकवानपुर प्रहरीले गाँजासहित भाडाको कन्टेनरका चालकलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुर र प्रहरी चौकी भैसे मकवानपुरको संयुक्त प्रहरी टोलीले भीमफेदी गाउँपालिका वडा नं. २ भैंसे चेकपोष्टस्थित सडक खण्डबाट भाडाको कन्टेनरका चालक सिन्धुपाल्चोकको बाह्रबिशे नगरपालिका वडा नं. ८ का वीर बहादुर तामाङलाई मंगलबार नियन्त्रणमा लिएको हो ।
प्रहरीले सवारी साधनहरु जाँच गर्ने क्रममा पालुङ तर्फबाट हेटाँैडा बजारतर्फ आउँदै गरेको बा २ ख ३२१९ नं. को भाडा कन्टेनर रोकी जाँच गर्दा उक्त कन्टेनर गाडीको पछाडिको डिब्बा भित्र लुकाई बिक्रीका लागि ल्याईएको १२ वटा पोकामा गाँजा १५७ किलो १२० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उक्त लागूऔषध र कन्टेनर गाडीसहित ४१ वर्षीय तामाङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमती लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।




