सुरक्षाको प्रत्याभूति दिलाउन मकवानपुरका निजी क्षेत्रद्वारा माग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ३१ गते । मकवानपुर जिल्लामा क्रियाशील निजी क्षेत्रका संघसंस्थाहरुले सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।
भदौ २३ र २४ गते नेपालमा भएको आन्दोलनपछि नागरिक र उद्योगी, व्यवसायीमा भय र त्रासको वातावरण कायमै रहेको भन्दै निजी क्षेत्रका पाँच संस्थाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका हुन् । मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर र मकवानपुर होटल एशोसिएशनद्वारा संयुक्त विज्ञप्तिमा भनिएको छ, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा राज्यपक्ष र नागरिकस्तरमा परिवर्तन आवश्यक छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, आगामी फागुन २१ गते निर्धारित निर्वाचन निष्पक्षतापूर्वक सम्पन्न भई मुलुक नविनतम ढंगबाट अघि बढ्ने विश्वास राख्दछौँ ।
भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जाल बन्दको विरोधमा भदौ २३ र २४ गते भएको प्रदर्शन नियन्त्रण बाहिर जाँदा नागरिकको धनजनको अपुरणीय क्षति हुन पुगेको भन्दै निजी संस्थाहरुले शान्तिपूर्ण विरोध जुलुश गर्न पाउने नागरिक स्वतन्त्रता कुण्ठित हुनपुग्दा भएको सार्वजनिक र निजी सम्पत्तिको क्षतिले मुलुक गम्भीर आर्थिक संकटमा फसेको ठहर गरेका छन् ।
प्रदर्शनको क्रममा भएको हत्या र आगजनीबाट व्यक्तिको संविधान प्रदत्त मौलिक र कानुनी हक उल्लङ्घन भएको, राज्य जनभावना दबाउन खोज्ने र प्रदर्शनकारी संयमता गुमाउँदा राज्य र नागरिकले ठूलो नोक्सानी बेहोर्नु परेको भन्दै विज्ञिीपतमार्फत व्यावसायिक घरानाहरुमा भएको आक्रमण खेदजनक भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त र परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना विज्ञप्तिमार्फत गरिएको छ ।
आन्दोलनको क्रममा निर्माणाधीन संरचनाहरुमा भएको क्षतिको  निर्माण व्यवसायीले सम्झौता अनुसार क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै सरकारले क्षति वा अन्य कारण देखाइ चाडबाडको समयमा निर्माण व्यवसायीको भुक्तानी रोक्ने कार्यले मजदुर, हार्डवेयर व्यवसायीलगायतलाई प्रत्यक्ष असर पर्ने हुँदा समयमै निकासा सुनिश्चित गर्न आग्रह गरिएको छ ।
मकवानपुर उवासंघका अध्यक्ष प्रमोद सिंह रानाभाट, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेल र मकवानपुर होटल एशोसिएशनका उपाध्यक्ष कल्याण पौडेलद्वारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नयाँ लगानीको वातावरण बनाउन क्षति पुगेका संरचना निर्माणमा राज्यले सहुलियत दिन माग गरिएको छ ।
साथै घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कानून बमोजिम कारवाही गरी समाजमा न्याय व्यवस्था स्थापित गर्न विज्ञिप्तिमार्फत आग्रह गरिएको छ ।

ताजा समाचार

Related Articles