हेटौँडामा संविधान दिवस मनाइयो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज ३ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ मूल आयोजक समितिको आयोजनामा शुक्रबार हेटौँडामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ ।
मुख्यमन्त्री कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनमा भएका कमजोरीलाई दलहरुले स्वीकार गर्नुपर्ने र त्यसको जिम्मेवारी लिन सक्नुपर्ने बताउनुभयो । संविधान कार्यान्वयनको सिलसिलामा भएका त्रुटि र कमीकमजोरीलाई लिएर संविधानलाई दोष दिन नहुने उहाँका भनाई छ ।
प्रदेश प्रमुख देवकोटाले जनताको अभूतपूर्व बलिदानबाट प्राप्त संविधान कानूनी दस्तावेज मात्र नभएर जनभावना प्रस्फुटन गर्ने सजीव प्राणी सरह भएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र, जनतामा निहित सार्वभौमसत्ता र मौलिक अधिकारहरुको सुनिश्चिततालाई आत्मसात् गरेको वर्तमान संविधान न्यायपूर्ण र समतामूलक समाज, राष्ट्रिय अखण्डता र एकताको पहरेदार भएको बताउनुभयो ।
प्रदेश प्रमुख देवकोटाले भन्नुभयो, ‘हामीले आफ्नो अनुहारमा धुलोमैलो भएको अवस्थामा ऐना पुछ्नु आफ्नो गल्ती नचिन्नु हो ।’
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, प्रशासन र सुरक्षा संयन्त्र एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले शान्ति, सुव्यवस्था, स्थायित्व र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउन सबैको भूमिका अपरिहार्य रहेको चर्चा गर्दै प्रदेश सरकार मितव्ययी बन्दै सुशासन प्रत्याभूत गराउन केन्द्रित रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, प्रदेश सरकारलाई मितव्ययी र नागरिकलाई अधिकतम सेवा सुविधा प्रदान गर्न फजुल खर्च कटौती गर्ने प्रक्रिया सुरु भइसकेको छ ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले दलहरुले आफूलाई नसच्याए र रुपान्तरण नगरे देशले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो ।
युवा पुस्ताको सडक प्रदर्शनको पछाडिको मुख्य कारण दलहरुको कमजोरीले नै भएको हो भन्ने स्वीकार्नुपर्ने भन्दै
जनताको पहुँच र आवश्यकतामा आधारित विकास हुन नसक्दा असन्तुष्टि बढेको जिकिर गर्नुभयो ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रले समावेशिता, समानुपातिक प्रतिनिधित्व जस्ता महत्वपूर्ण उपलब्धि दिए पनि दलहरुको कार्यशैलीका कारण जनतामा निराशा छाएको बताउनुभयो ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीले संविधानको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, प्रदेश सरकारका सचिवहरुलगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles