काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा भारी वर्षा

लोकप्रिय

काठमाडौँ, असोर ८ गते। मनसुनी वायु कमजोर हुँदाहुँदै पनि आज काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् हरिप्रसाद दाहालले बाह्य ठुलो प्रणाली नभई स्थानीय स्तरमा बनेको प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको बताउनुभयो । उहाँका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहनुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज वर्षा भएको हो ।

देशको मधेस र बागमती प्रदेशलगायत कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकीदेखि पूर्वका अधिकांश स्थानमा आज मध्यम वर्षा भएको छ । मौसमविद् दाहालले पछिल्लो तीन घण्टामा काठमाडौँ उपत्यकासहित कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षा भएको जानकारी दिनुभयो । उहाँले तीन घण्टामा भक्तपुरको ताथलीमा २४ दशमलव छ मिलिमिटर वर्षा भएको जनाउँदै रानीपोखरीमा १४ दशमलव छ मिलिमिटर र नैकापमा १४ मिलिमिटर वर्षा भएको बताउनुभयो ।

यो प्रणालीका कारण भोलिसम्म मध्यम वर्षा जारी रहने जनाउँदै भोलिदेखि उक्त प्रणाली कमजोर हुँदै जाने मौसमविद् दाहालले बताउनुभयो । विभागका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा बढी गोरखामा ८७ दशमलव छ, गुल्मीमा ६२, लमजुङमा ६१ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । अन्य सिन्धुपाल्चोक, पर्सा, सुर्खेत, चितवनलगायत जिल्लामा पनि वर्षा भएको छ ।

उपत्यका आसपासका अधिकांश नदीमा बाढी, सतर्कता अपनाउन आग्रह
काठमाडौँ उपत्यका आसपासका अधिकांश नदीमा आज दिउँसोदेखिको वर्षापछि अहिले बाढी आएको छ । यहाँका बागमती, विष्णुमती, बल्खु, धोविखोलालगायत नदीमा बाढी आएकाले नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसोदेखिको वर्षा निरन्तर रहिरहे जल सतह पार गर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । काठमाडौँ आसपासका क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ ।

ताजा समाचार

Related Articles