काठमाडौँ, असोज २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको भन्ने खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ ।

उहाँले प्यालेष्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाईको लागि आफूलेसमेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको बताउनुभएको हो ।
उहाँले जोशीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
