चितवन, कात्तिक १ गते । चितवनमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक वृद्धको ९ दिनपछि मृत्यु भएको छ। उपचारका लागि अस्पताल भर्ना गरिएका उनलाई परिवारले आफ्नै खुसी डिस्चार्ज गराएर घर लगेकोमा सोही रात उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, यही असोज २१ गते बिहान ५:३० बजे राप्ती नगरपालिका-६ हर्दीस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको थियो।

दुर्घटनामा साइकलयात्री खैरहनी नगरपालिका-९ बस्ने ७५ वर्षीय रामेश्वर चौधरीको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो। मोटरसाइकल चालक पर्सा, वीरगञ्जका २९ वर्षीय आयुष दुबे र पछाडि सवार ३५ वर्षीया प्रतिमा लामा पनि घाइते भएका थिए। घाइते तीनै जनालाई उपचारका लागि भरतपुरस्थित एलाइभ अस्पतालमा लगिएको थियो।

अस्पतालमा उपचाररत चौधरीलाई असोज ३० गते साँझ परिवारले आफ्नै खुसी डिस्चार्ज गराएर घर लगेको प्रहरीले जनाएको छ। तर, घर लगेको केही घण्टामै सोही दिन राति ११ बजे उनको मृत्यु भएको खबर प्रहरीमा आएको थियो।

प्रहरीले शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाएको छ। पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल चालक दुबेको भने एलाइभ अस्पतालमा उपचार भइरहेको र उनी प्रहरीको निगरानीमा रहेको प्रहरीले जनाएको छ।




