काठमाडौँ, कात्तिक २७ गते । सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा अवस्था र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई सीमा सुरक्षा (बोर्डर आउट पोस्ट) मै खटाएको छ ।

नेपाल–भारत सिमानामा रहेका २४९ र नेपाल–चीन सीमा सुरक्षाका लागि ११ वटा गरी २६० वटा बिओपी स्थापाना गरिएको छ । बिओपी सुरक्षाका लागि यसअघि सशस्त्र प्रहरी नायब निरीक्षक (डिएसपी) र सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा एक प्लाटुन अर्थात् ४० जनाको फोर्स तैनाथी छ ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बिओपीमा तैनाथ एसएसपीहरूले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा काम गर्ने छन् । सशस्त्रले पहिलो चरणमा कोशी प्रदेशको सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङमा एसएसपी दिग्विजय सुवेदी, मधेश प्रदेशको सीमा सुरक्षा गुल्म वीरगन्ज पर्सामा माधवप्रसाद पौडेल, लुम्बिनी प्रदेशको सीमा सुरक्षा गुल्म डन्डा–कृष्णनगर–जमुनाह बाँकेमा रवीनराज कर्णजित र सुदूरपश्चिम प्रदेश सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र सुरक्षा गुल्म गड्डाचौकीसम्मको जिम्मेवारी एसएसपी गङ्गाराम श्रेष्ठलाई दिएको छ ।

एसएसपीहरूले बिओपीमै बसेर समग्र वस्तुस्थिति अध्ययन गरी दैनिक तथा साप्ताहिक रूपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन पठाउने छन् । सशस्त्रले पहिलो पटक उच्च अधिकृतलाई नै सीमा सुरक्षाको कमान्ड तोकी पठाएको यो पहिलो अभ्यास हो ।




