एन्फा प्रेसिडेन्ट लिग: लालीगुराँस र चित्लाङ एफसी फाइनलमा प्रवेश

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक ३० गते । हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौँको चित्लाङ एफसी फाइनलमा प्रवेश गरेको छ । हेटौँडाको गौरीटार रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २–० गोलले पराजित गरेको हो ।

लालीगुराँसका लागि मुकुन्द कुमार निउरले २० औँ र राम थापाले ९२ औँ मिनेटमा गोल गर्नुभयो । प्लेयर अफ दि म्याच निउर घोषित हुनुभयो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा चित्लाङले बाराको नव जनजागृति युथ क्लबलाई सडनडेथमा ९–८ गोलले हरायो । निर्धारित खेल समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा ४–४ गोलको बराबरीपछि खेलको नतिजा सडनडेथबाट लिएको हो । खेलमा प्लेयर अफ दि म्याच चित्लाङका गोलरक्षक विशाल केसी घोषित हुनुभएको थियो ।

सेमिफाइनल प्रवेश गरेको चार वटै टिम राष्ट्रिय लिगको लागि छनौट भएका छन् ।
लिगको उपाधिका लागि लालीगुराँस र चित्लाङबीच आगामी मंसिर २ गते मंगलबार प्रतिस्पर्धा हुनेछ । विजेता टिमले १० लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले पाँच लाख रुपियाँ प्राप्त गर्ने छन् ।

ताजा समाचार

Related Articles