खासकुरा संवाददाता
हेटौँडा, मंसिर १ गते । राप्ती नदी र किनार क्षेत्रमा प्रदुषण बढ्दै गएपछि स्वच्छता र शुद्धताका लागि चासो देखाउन थालिएको छ ।
राप्ती नदीमा सहरी क्षेत्रमा उत्पादन हुने फोहोर फाल्ने प्रवृतिले तीव्रता पाएसँगै त्यसको नियन्त्रणका लागि सुरु गरिएको सरसफाई अभियानले निरन्तरता पाएको छ ।
तेस्रो राप्ती नदी सरसफाई दिवश २०८२ को अवसरमा सोमबार हेटौँडा उपमहानगरपालिका १० स्थित राप्ती नदीमा सरसफाई गरिएको हो ।

सरसफाईमा हेटौँडा उपमहानगरपालिका, नेपाली सेना गोरख बहादुर गण सुपरेटार ब्यारेक, जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल १४ नम्बर गण, गोरक्षश्वर धार्मिक वन समिति, ट्राफिक प्रहरी कार्यालय मकवानपुर, स्थानीय समुदाय, सामुदायिक वन समूह, टोल विकास संस्था, वन कर्मचारीलगायतको सरसफाई अभियानमा सहभागिता रहेको थियो ।
२०७७ सालमा सरकारी स्तरमा हेटौँडा उपमहानगरपालिका र जिल्ला वन कार्यालयको अगुवाईमा हेटौँडा १० राप्ती नदीको सरसफाई गरिएको थियो ।
२०८० सालबाट दिवसकै रुपमा राप्ती नदी सरसफाई अभियान सुरु गरिएको हो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एवं उपमहानगरका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक फुर्वा दोर्जे लामाले नदीमा हुने प्रदुषणले सबै क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै नदीको स्वच्छताका लागि नियमित सरसफाई आवश्यक भएको बताउनुभयो ।
उहाँले बढ्दो सहरीकरणसँगै फोहोर उत्पादन गर्नेको दापरबाहीका कारण नदी प्रदुषित बनेको भन्दै राप्ती नदीलाई स्वच्छ राख्न सरोकारवालाबिच सहकार्य आवश्यक भएको बताउनुभयो ।

डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीले राप्ती नदी र आसपासमा प्रदुषण बढेसँगै जलचर जोखिममा पर्दै आएको बताउनुभयो ।
पानी मानिस र पशुपंक्षीको जीवनसँग जोडिएकोले यसको स्वच्छता कायम गर्नु सबैको दायित् भएको उहाँले बताउनुभयो ।
उहाँले हेटौँडादेखि चितवनको गोलाघाटसम्म सरसफाइ कार्यलाई निरन्तर दिइने बताउनुभयो ।
डिभिजन वन अधिकृत वसन्तराज गौतमले सरसफाइसँगै राप्ती नदी किनारको क्षेत्रलाई हरियाली बनाउने कार्य उपमहानगर र वन कार्यालयको प्रयासमा भईरहेको भन्दै नदी प्रदुषित हुँदा जीवजन्तुसँगै मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने बताउनुभयो ।
अभियान अन्तर्गत मकवानपुर र चितवनका विभिन्न स्थानहरूमा सरसफाइ गरिएको जानकारी दिनुभयो ।




