जनकपुरधाम, मङ्सिर २ गते । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको पदमुक्त रोकिएको छ । यससँगै विवादमा परेका ती पाँचै सदस्यको पद अथावत नै रहेको छ । सोमबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेको पदमुक्तको निर्णयमा अन्तरिम आदेश जारी गरेको हो ।

गत कात्तिक २७ गते सभामुख मण्डलले जनता समाजवादी पार्टी नेपालका चार र नागरिक उन्मुक्ति पार्टीका एकजना गरी पाँच सांसदलाई लगातार १० दिन प्रदेशसभा बैठकमा अनुपस्थित रहेको आधारमा पदमुक्त गर्नुभएको थियो । पदमुक्त हुनेमा जसपाका मनिष कुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार, सारदा शंकरप्रसाद साह र नागरिक उन्मुक्ति पार्टीका उर्मिला सिंह हुनुहुन्थ्यो ।

सभामुखको निर्णयविरुद्ध प्रभावित पाँचै सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्दै पदमुक्त असंवैधानिक र प्रक्रिया विपरीत भएको दाबी गर्नुभएको थियो ।




