खासकुरा संवाददाता
हेटौँडा, मंसिर ३ गते । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ हर्दास्थित माटोकोरी आधारभूत विद्यालयको २५ औँ अभिभावक भेला तथा पुरस्कार वितरणको कार्यक्रम सम्पन्न भएको छ ।

बकैया गाउँपालिकाको अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यता तथा इस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन मकवानपुरका कार्यक्रम संयोजक बुद्ध लामाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विद्यालयका अध्यक्ष, प्रधानाध्यापक तथा सामुदायिक वन उपभोक्ता समिति, टोल विकास समितिका सदस्य एवं पदाधिकारीहरुको उपस्थितिमा रहेको थियो ।

कार्यक्रममा नियमित विद्यार्थी पुरस्कार, कक्षागत उत्कृष्ट पुरस्कार, कक्षा ८ उत्तीर्ण विद्यार्थीहरुलाई नगद छात्रवृत्ति प्रदान, कक्षा ८ मा उत्कृष्ट नतिजा प्रदान गर्ने सम्पूर्ण विषयगत शिक्षकलाई पुरस्कार, पर्व बिदा सन्चित गर्ने शिक्षकलाई नगद पुरस्कार र उत्कृष्ट अभिभावक पुरस्कार प्रदान गरिएको थियो ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई २० थान झोला वितरण गरिएको प्रधानाध्यापक विद्यालयका शिव प्रसाद बोलखेले जानकारी दिनुभयो ।
साथै अभिभावक हाजिरीजवाफ प्रतियोगितामा करिब ६० जना अभिभावकलाई पुरस्कृत गरिएको थियो ।




